बुढासुब्बा गोल्डकप : भुटानको सहज जित

सोमबार, २१ माघ २०८१
धरान : इटहरीविरूद्ध सानदार जित निकाल्दै भुटानको रोयल थिम्पु कलेज २५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भुटान प्रिमियर लिग खेल्ने टिम रोयल थिम्पु कलेजले इटहरीको राष्ट्रिय जागृति क्लब (राजा)लाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । सेमिफाइनलमा भुटानले चर्च ब्वाइज युनाइटेडसँग प्रतिष्पर्धा गर्नेछ । भुटानले खेलको सातौँ मिनेटमा नै अग्रता लिएको थियो । नोयेदा योसेलको पासमा सोनाम योसेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अग्रता बनाएको भुटानले दोस्रो हाफमा थप ३ गोल थप गरेको थियो । दोस्रो हाफको ७ औ मिनेटमा सोनाम जुग्द्रुलले गोल गरेका थिए । इटहरीको डिबक्स एरियामा डिफेन्सले क्लियर गर्न नसकेको बललाई सोनामले दोस्रो बार च्याप्दै जाली चुमाएका थिए । दोस्रो हाफको १४ औं मिनेटमा कर्मा जम्सोले गोल थप्दै टोलीलाई ३–० को स्थितिमा पु¥याएका थिए । कर्माले प्रहार गरेको बल इटहरीका गोल किपर सन्दिप लिम्बूले नियन्त्रणमा लिन नसक्दा बलले गोल लाइन क्रस गरेको थियो । दोस्रो हाफको २५ औं मिनेटमा सोनाम योसेको पासलमा नयन्दा योसेनले गोल गर्दै टिमको जित निश्चित गरे । खेलको म्यान अफ द म्याच भुटानका सोनाम योसे घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । तीन विदेशी खेलाडीसहित मैदानमा उत्रिएको इटहरी भुटानको तुलनामा शारीरिक रूपमा बलियो देखिन्थ्यो । मैदानमा भुटानका युवा खेलाडी इटहरी भन्दा टेक्निकल्ली राम्रो खेल प्रदर्शन गरेका थिए । इटहरीले दोस्रो हाफको ३२ औं मिनेटमा इटहरीका आलेक्सले सान्त्वना गोल फर्काएका थिए । उनले विपक्षी गोल किपरलाई फ्लिक गर्दै गोल गरेका थिए । मंगलबारको अन्तिम क्वाटरफाइनल खेल साविक विजेता काठमाडौको न्यूरोड टिम (एनआरटी र काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार