इलामको रोङमा सरस्वतीको मन्दिर उद्घाटन

सोमबार, २१ माघ २०८१
इलाम : इलामको रोङ ६ स्थित सरस्वती माध्यामिक विद्यालयमा सरस्वतीको मन्दिर उद्घाटन गरिएको छ । देउसी भैलोबाट सङ्कलित रकमले सरस्वतीको मन्दिर निर्माण गरी सोमबार उद्घाटन गरिएको हो । सङ्कलित एक लाख एक हजार सात सय र दाताहरूको करिब तीन लाख नगद र ५३ हजार बराबरको जिन्सी सहयोग जुटाएर मन्दिर निर्माण गरिएको हो । मन्दिर निर्माणमा थप सहयोग गाउँपालिकाले गरेको हो । करिब ६ लाख १७ हजारको लागतमा मन्दिर निर्माण भएको हो । सरस्वती पूजाको दिनको अवसरमा रोङ गाउपालिका अध्यक्ष मनिकुमार स्याङ्वाले दीप प्रज्वलन गरी वैदिक विधिअनुसार मन्त्रोच्चारणसहित उद्घाटन गरेका हुन् । गाउँपालिकाका उपाध्यक्ष विष्णुमायाँ खवास, वडा नं. ६ वडाध्यक्ष सत्यम् राई चौरासे, वडा नं. ३ का वडाध्यक्ष मात्रिका बराल, रोङ गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत विनोद कुमार चौहान लगायतले सामूहिक पूजा गरी मन्दिरको उद्घाटन गरेका थिए । सोही अवसरमा विद्यालयको ६८ औँ वार्षिकोत्सवसमेत सम्पन्न गरेको छ । गत मंसिर ६ गते रोङ गाउँपालिकाका उपाध्यक्ष खवासले मन्दिरको शिलन्यास गरेकी थिइन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार