उर्लाबारीमा मोबाइल पसल चोरी : प्रहरीको भूमिकामाथि प्रश्न

मंगलबार, २२ माघ २०८१
मोरङ : मोरङको उर्लाबारीमा एक मोबाइल पसलमा चोरी भएपछि स्थानीय व्यापारीहरू र सर्वसाधारणले प्रहरीको भूमिकामाथि प्रश्न उठाएका छन्। उर्लाबारी नगरपालिका–७ का योगराज कार्कीले सञ्चालन गरेको मोबाइल वर्ल्ड नामक पसलमा सोमबार राति चोरी भएको हो। उक्त पसल पूर्व–पश्चिम राजमार्गसँगै उर्लाबारी चोकमा अवस्थित छ, जुन इलाका प्रहरी कार्यालयबाट केवल १५० मिटरको दूरीमा पर्छ। मुख्य चोकमा रहेको पसलमा करिब एक घण्टासम्म चोरी भइरहँदा प्रहरीले केही थाहा नपाउनु गम्भीर विषय भएको बताइएको छ। कार्यालयनजिकै मुख्य चोकमा रहेको पसलमा चोरले रजाइँ गरिरहँदा प्रहरी के गर्दै थियो भनेर प्रश्न उठेको हो । इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्चार्ज एवं इन्स्पेक्टर राकेश यादव बिदामा थिए । सइ चूडामणि पौडेल निमित्त प्रमुखको जिम्मेवारीमा थिए । सइ पौडेल कार्यालयको मुद्दा फाँट हेर्छन् । मुद्दा फाँटमा उनले खेल्ने गरेको भूमिकामा पनि बारम्बार प्रश्न उठिरहेको छ । पौडेलमाथि मुद्दा फाँटमा बसेर अपराध अनुसन्धानका नाममा पैसाको ‘बार्गेनिङ’ गर्ने गरेको आरोप छ । त्यहाँमाथि कार्यालयनजिकै करिब १ घण्टा लगाएर चोरीमा संलग्नले मोबाइल पसल रित्त्याउँदा सुइँकोसम्म नपाउनुले प्रहरीको भूमिकालाई थप शंकास्पद बनाएको छ । पसल सञ्चालकले खबर गरेपछि प्रहरीले बिहान ९ बजेतिर घटना थाहा पाएको हो । उर्लाबारीको मुख्य चोकमै रहेको पसलको सटर फोडेर ३ करोड मूल्य बराबरको मोबाइल चोरी हुँदा सुरक्षामा खटिने प्रहरी के गरिरहेका थिए भनेर सार्वजनिक हिसाबले प्रश्न उठेको उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरिङ लिम्बूले बताए । घटनाको प्रकृति हेर्दा र प्रहरी कार्यालयनजिकै चोकमा घटना हुँदा थाहा नपाउनुले कतै प्रहरीकै मिलेमतो थियो कि भनेर आशंका गर्ने पर्याप्त आधारहरु खडा भएको स्थानीय व्यापारीहरु बताउँछन् । चोरीका क्रममा ३ करोड रुपैयाँभन्दा बढी मूल्यका मोबाइल तथा अन्य सामान चोरी भएको पसल सञ्चालक कार्कीले जानकारी दिएका छन्। उनका अनुसार, पसलमा रहेको ९ लाख रुपैयाँ नगदसमेत चोरी भएको छ। चोरीमा संलग्नहरूले पसलका करिब ४५० भन्दा बढी मोबाइल, जसमा आईफोन, रेडमी, ओपो लगायतका महँगा मोबाइलहरू थिए, बोरा भरेर ओसारेका थिए। घटनास्थलमा करिब ३०० वटा मोबाइलका खोल फालिएको अवस्थामा भेटिएको छ। पसलमा रहेको सीसीटीभी फुटेजमा दुई जनाले चोरी गरिरहेको देखिएको छ। उनीहरूले चार पटकसम्म मोबाइल बोक्दै गरेको दृश्य फुटेजमा कैद भएको बताइन्छ। घटनाका विषयमा जानकारी पाएपछि प्रहरीको टोली खटाइएको भए पनि हालसम्म कुनै संलग्नलाई पक्राउ गर्न नसकिएको व्यापारीहरूले गुनासो गरेका छन्। घटनाको छानबिन तथा संलग्नको खोजीका लागि इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहाल नेतृत्वको टोली परिचालन गरिएको छ। साथै, जिल्ला प्रहरी कार्यालय मोरङ र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट थप टोली खटाइएको छ। डीएसपी दाहालले छिट्टै संलग्न पक्राउ गरिने बताएका थिए, तर घटनाको अनुसन्धान अपेक्षित गति लिन नसकेको स्थानीय व्यापारीहरूको भनाइ छ। उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरिङ लिम्बूले प्रहरीको भूमिकामाथि प्रश्न उठाउँदै भने, “मुख्य चोकमै यस्तो ठूलो चोरी हुनु, त्यो पनि प्रहरी कार्यालयनजिकै, सुरक्षाको गम्भीर कमजोरी हो। यदि प्रहरीले आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह गरेको भए यस्तो घटना हुने थिएन।” वडाध्यक्ष रविन लामाले पनि प्रहरीको भूमिकामाथि शंका व्यक्त गर्दै भने, “व्यापारीहरूले आफ्नो सुरक्षा आफैं गर्नुपर्छ, तर प्रहरीको उपस्थितिबाट सुरक्षा प्रत्याभूति हुनुपर्छ। प्रहरी कार्यालय नजिकै यस्तो घटना हुनु गम्भीर विषय हो।” मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले घटनाको अनुसन्धान जारी रहेको र दोषी पहिचान गर्न सीसीटीभी फुटेज लगायत अन्य प्रमाणहरूको विश्लेषण भइरहेको बताए। साथै, प्रहरीको लापरबाही भए आवश्यक कारबाही गरिने उनको भनाइ छ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार