विराटनगर । मोरङको बेलबारीमा शिशु अवस्थाकी छोरीसहित १ जना महिलाले माछा पोखरीमा हामफालेकी छन् ।
नाबालिकासहित पोखरीमा हामफालेकी महिलाको उद्धार गरिएको छ । तर, शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ । हामफालेको देख्नसाथ स्थानीयले उद्धार गरेर उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा पठाएका थिए ।
अस्पताल पुर्याउनसाथ शिशुलाई चिकित्सकले मृत घोषित गरिदिएका हुन् । मोरङ प्रहरीका निमित्त प्रवक्ता एवं इन्स्पेक्टर हेमराज ओलीले बेलबारी नगरपालिका–९ तीनखुटियाका गंगाराम यादवकी पत्नी २२ वर्षीया प्रीति यादवले आफ्नै ६ महिनाकी छोरी काव्या यादवसहित माछा पोखरीमा हामफालेको जानकारी दिए ।
उनका अनुसार घटना शुक्रबार साँझ ७ः३० बजेतिरको हो । नाबालिका छोरीलाई लिएर निस्किएकी प्रीतिले घरदेखि करिब १ किलोमिटर उत्तरमा रहेको पनैलाल चौधरीको माछा पोखरीमा हामफालेको जानकारी ओलीले दिए ।
हामफालेको देखेपछि स्थानीयले पोखरीबाट उद्धार गरेर उपचारका लागि पठाए । तर, अस्पताल पु¥याउनसाथ राति ८ः३० बजेतिर शिशुलाई भने चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ ।
ओलीका अनुसार अवस्था गम्भीर रहेकी आमाको आईसीयूमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
शिशुसहित आमाले पोखरीमा हामफाल्नुपर्ने कारण पत्ता लाग्न बाँकी रहेको इन्स्पेक्टर ओलीले बताए । भने, ‘शिशु अवस्थाकी छोरीसहित आमाले माछा पोखरीमा हामफालेको पाइयो ।
स्थानीयले उद्धार गरेर उपचारका लागि पठाएछन् । अस्पताल पुर्याएपछि शिशुलाई चिकित्सकले मृत घोषित गरिदिए । गम्भीर अवस्थाकी आमाको उपचार भइरहेको छ । तर, घटनाको कारण थाहा हुन सकिरहेको छैन । थप अनुसन्धानबाट वास्तविकता पत्ता लाग्छ ।’
शिशु अवस्थाकी छोरीसहित पत्नीले पोखरीमा हामफाल्दा पति गंगाराम भने घरमा थिएनन् । उनी दूध पुर्याउन बजार गएको पाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया