कोशी प्रदेशमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले चालकलाई जिम्मेवार बनाउन नयाँ अभियान

आइतबार, ११ फागुन २०८१
विराटनगर : सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सवारी साधन चालकलाई जिम्मेवार बनाउन कोशी प्रदेशमा नयाँ अभियान सुरु गरिएको छ । नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सञ्चालन गरेको अभियान आइतबार विराटनगर बसपार्कबाट सुरु भएको हो । कार्यक्रममा प्रतिबद्धतामूलक स्टिकरको लोकार्पण समेत गरिएको छ । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का प्रदेश अध्यक्ष किशोर धमला, नेपाल ट्रेड युनियन कांग्रेसका मोरङ अध्यक्ष सुशील कोइराला, नेपाल यातायात व्यवसायी महासंघका सदस्य राजन कँडेललगायतले संयुक्त रूपमा लोकार्पण गरेका हुन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष राईले दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सचेतनाका लागि नयाँ ढंगले जागरण अभियान सुरु गरिएको जानकारी दिए । उनका अनुसार सवारी चालकहरुलाई बढी जिम्मेवार बनाउनेतर्फ अभियान केन्द्रित हुनेछ । सवारी चालकलाई लक्षित गरेर तयार पारिएको प्रतिबद्धतामूलक स्टिकर कोशी प्रदेशमा सञ्चालन हुने प्रत्येक सार्वजनिक सवारीसाधनमा टाँस्ने तयारी रहेको उनले बताए । चालकले लेन अनुशासनको पालना गर्ने, पैदल यात्रुलाई प्राथमिकता दिने, जथाभावी ‘ओभरटेक’ र ‘पार्किङ’ नगर्ने, तीव्र गतिमा तथा लापसे (लागूपदार्थ सेवन) र मापसे (मादकपदार्थ सेवन) गरेर सवारी नलचाउने एवं सधैं ट्राफिक नियमको पालना गर्ने विषय उल्लेख गरेर स्टिकर तयार पारिएको हो । ‘सवारी दुर्घटना बढ्यो । सरकारको मात्रै आश गरेर भएन । त्यही भएर यातायात व्यवसायी एवं मजदुर आबद्ध संघ संगठनकै अगुवाइमा नयाँ अभियानको सुरुवात गरिएको हो,’ उनले भने, ‘दैनिक दुर्घटनामा परेर मुलुकभर औसतमा ७–८ जनाको मृत्यु भइरहेको छ । ४० जनाजति घाइते भइरहेका छन् । १० वर्षको अवधिमा २८ हजार जनाको मृत्यु सवारी दुर्घटनामा परेर भएको छ ।’ दुर्घटना न्यूनीकरण गर्न सबैले हातमालो गर्नुपर्ने उनको भनाइ छ । ‘दुर्घटनामा १ जनाको मृत्यु भयो भने परिवारको सहारा टुट्छ । सबै हिसाबले परिवार ठूलो समस्यामा पर्छ । दुर्घटना गराउने चालक जेल जान्छन् । सडक दुर्घटनाका असरहरू धेरै छन् । त्यसबाट बच्न सबै सजग हुनु आवश्यक छ । चालक जिम्मेवार बन्नुपर्छ,’ उनले भने । सवारी सञ्चालन सम्बन्धी शिक्षाको आवश्यक रहेको बताउँदै राईले नेपालमा चालक र सहचालकलाई पढाउने ठाउँ नभएको उल्लेख गरे । ‘नेपालमा सवारी र सडक शिक्षा प्रणाली छैन । सहर छिरेर केही समय सहचालक बनेपछि चालक बन्ने परिपाटी छ,’ उनी भन्छन्, ‘सरकारले चालकलाई यातायात सम्बन्धी शिक्षा दिन आवश्यक छ । चालकलाई लाइसेन्स (सवारी चालक अनुमति पत्र) दिनुअघि पढाउनलाई संरचना बनाइनुपर्छ ।’ कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले सडकको अवस्था ठीक नभएकाले पनि दुर्घटना बढेको बताए । ‘अधिकांश दुर्घटनामा चालकको लापरबाही देखिन्छ । ट्राफिक नियमको उल्लंघनलगायतका मानवीय कारण पनि छन् । केही दुर्घटना प्रतिकूल मौसम र सडकको खराब अवस्थाले समेत भएका छन्,’ उनले भने । दुर्घटना न्यूनीकरणको उद्देश्य राखेर जनचेतनामूलक कार्यक्रम नियमित सञ्चालन गरिएको जानकारी अधिकारीले दिए । चालु आर्थिक वर्षको हालसम्म १५ हजार हाराहारी जनचेतनामूलक कार्यक्रम गरिएको र त्यसबाट ३ लाखभन्दा बढी लाभान्वित भएको उनको भनाइ छ । चालकले सुरक्षित हिसाबबाट गाडी चलाउनुपर्छ भन्ने महसुस गरेमा दुर्घटना कम हुने उनले बताए । उनका अनुसार कोशी प्रदेशमा नौ लाख बढी सवारीसाधन दर्ता छन् । दुर्घटना हुनेमा सबैभन्दा धेरै २ पांग्रे सवारीसाधन रहेको जानकारी डीआईजी अधिकारीले दिए । ‘दुर्घटनाको अवस्था डरलाग्दो छ । त्यहाँमाथि २ पांग्रे साधन धेरै दुर्घटनामा परेका छन्,’ उनले भने, ‘नेपालमा ट्राफिक नियम नरम छ । सामान्य कारबाही मात्रै गरेर छाड्नुपर्ने अवस्थाका कारण दुर्घटना न्यूनीकरणमा समस्या भइरहेको छ ।’ दुर्घटना न्यूनीकरण गर्न चालकको ‘प्रोफायल’ तयार गर्नुपर्ने उनको भनाइ छ । तीव्र गति रोक्न ‘टाइमकार्ड’ लागू गरिएको उनले बताए । ‘लाइसेन्स नभएको व्यक्तिलाई गाडी चलाउन दिन हुँदैन भनेर घरघरमा सन्देश पुर्याउन आवश्यक छ,’ डीआईजी अधिकारीले भने, ‘दुर्घटना न्यूनीकरणलाई साझा मुद्दा र एजेन्डा बनाएर अघि बढ्नुपर्छ ।’ नेपाल ट्रेड युनियन कांग्रेसका मोरङ अध्यक्ष सुशील कोइराला, नेपाल यातायात व्यवसायी महासंघका सदस्य राजन कँडेललगायतले के कारणबाट दुर्घटना भइरहेको छ भनेर यकिन गर्दा मात्रै न्यूनीकरण गर्न सकिने बताए । ‘के कारणले दुर्घटना बढ्यो भनेर थाहा पाउन सकिएन । चालकलाई थुनेर मात्रै समस्याको समाधान हुँदैन,’ उनीहरु भन्छन् । विराटनगर महानगरपालिका–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने अभियान सफल पारेर चालकलाई जिम्मेवार बनाउनुपर्ने बताउँछन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका डीएसपी रामेश्वर त्वातीले ७० प्रतिशत दुर्घटना चालकको लापरबाहीले हुने गरेको बताए । दुर्घटना न्यूनीकरण गर्न र चालकलाई जिम्मेवार बनाउन सडकमा ट्राफिक सक्रियता बढाइएको उनको भनाइ छ । डीएसपी त्वातीले अधिकांश दुर्घटनामा चालक नै जिम्मेवार हुने बताए । अभियान सञ्चालनका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सहजीकरण गर्नेछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार