काठमाडौ, : मुलुकको विषम परिस्थितिमा पार्टीको काँधमा असाधारण जिम्मेवारी रहेको एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । पार्टीको ११ औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केन्द्रीय कमिटीले निष्ठा र उत्साहका साथ उक्त जिम्मेवारी पूरा गर्नुपर्ने समेत बताएका हुन् ।
अध्यक्ष ओलीले पार्टीको ११औँ महाधिवेशन भव्यता र हरेक कोणबाट सफल भएको दाबी दावी पनि गरे । उनले पार्टीभित्र समयसमयमा केही समस्या देखिएपनि आगामी दिनमा त्यस्ता कमजोरी प्रकट नहुन् भन्नेमा सबै सचेत रहनुपर्नेमा जोड दिए ।
“हाम्रो एक आवाज हुनुपर्दछ, दोस्रो विधान महाधिवेशनले पास गरेको नीतिअनुसार अगाडि बढ्ने छौँ । बेतालमा, बेसुरमा होइन, हामी तालमा अगाडि बढ्ने छौँ”, अध्यक्ष ओलीको भनाइ रहेको थियो । पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा गएर नपोख्न र केही, असहमति र असन्तुष्टि भए नेतृत्वसमक्ष मौखिक वा लिखत रूपमा पेस गर्न आग्रह गरे । “समाज र सामाजिक प्राणी हुनुको नाताले अनुशासन अपरिहार्य छ । उन्नत समाज निर्माणको अग्रदस्ता राजनीतिक पार्टी र तीमध्ये पनि अग्रदस्ताको रूपमा रहेको एमालेभित्र दृढ अनुशासन अपरिहार्य छ । यसमा हामी सबै जिम्मेवार ढङ्गले सचेत रहनुपर्छ”, अध्यक्ष ओलीले भने । एमालेकाविरुद्ध अनेक भ्रम फिँजाइएको बताउँदै ओलीले यस्ता कुराबाट प्रभावित नहुन नेताहरूलाई आग्रह गर्दै अब एमालेभित्र कुनै गुट र प्यानल नभएको भन्दै एमाले एक ढिक्का भएर अगाडि बढ्ने स्पष्ट पारे । हाल देश अप्ठेरो अवस्थामा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यो अप्ठ्यारोबाट सहज बाटोमा ल्याउने काम एमालेले नै गर्ने जिकिर समेत गरे ।
प्रतिक्रिया