विराटनगर । मोरङको उर्लाबारीमा १ जना पुरुष मृत भेटिएका छन् । छिमेकीको घरमा मृत फेला परेको जानकारी सोमबार बिहान ६ः३० बजेतिर प्रहरीले पाएको थियो ।
प्रहरीका अनुसार उर्लाबारी नगरपालिका–९ का ४९ वर्षीय नरेन्द्र लावती लिम्बू मृत फेला परेका हुन् । उनलाई छिमेकी डिगबहादुर खड्काको घरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
लिम्बू र खड्काको घरको दुरी करिब १ सय ५० मिटर उत्तर–दक्षिणमा पर्छ । उनी खड्काको घरको प्यासेजमा मृत फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर राकेश यादव नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा पठाएको छ ।
लिम्बूको मृत्युको कारण खुल्न बाँकी छ । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ । स्थानीले भने आइतबार राति मापसे (मादक पदार्थ सेवन) गरेर लिम्बू सुतेको बताएका छन् ।
पोस्टमार्टम रिपोर्ट प्राप्त भएर घटनाको थप अनुसन्धान गरेपछि मृत्युको कारण यकिन हुने प्रहरीको भनाइ छ ।
प्रतिक्रिया