इटहरी : धरानमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका वडा नं. ८ तीनकुने चोकस्थित भित्री सडकखण्डमा अस्थाई प्रहरी चौकी तीनकुनेबाट खटिएको प्रहरी गस्ती टोलीले धरानबाट इटहरीतर्फ आउँदै गरेको बा ८३ प २९०४ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्न खोज्दा भागेपछि पिछा गर्दै जाने क्रममा सेउती पुल छेउमा उक्त मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकमा लडेको अवस्थामा फेला परेको थियो ।
मोटरसाइकल चालक तत्काल फरार रहेपनि मोटरसाइकलमा सवार धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं. २ बस्ने २१ वर्षीय सुरेश शिवालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनको साथमा रहेको दुई वटा जेब्रा झोला चेकजाँच गर्दा झोलाभित्र सेतो प्लाष्टिकले प्याक गरेको अवस्थामा लागूऔषध गाँजा २९ केजी फेला पारिएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका शिवालाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । फरार चालकको खोजी कार्य भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।
प्रतिक्रिया