इटहरी : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा प्रथम राष्ट्रिय बाँस सम्मेलन सुरु भएको छ ।
नगरपालिकाको मुख्य आयोजना, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल, पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश र ग्रिन ब्याम्बो क्रियसन ललितपुरको आयोजनामा बिहीबारदेखि सुरु सम्मेलनको वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले उद्घाटन गरेका हुन् ।उद्घाटन सत्रमा बोल्दै मन्त्री ठकुरीले आगामी आर्थिक वर्षदेखि कोशी प्रदेश र खोटाङलाई केन्द्रित गरेर बाँससँग सम्बन्धित राष्ट्रिय नीति, निर्माण गर्ने बताएका छन् ।
‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बास’ नारासहित तीन दिनसम्म चल्ने सम्मेलनमा बाँससँग सम्बन्धित नीति, निर्माण, खेती विस्तार, उद्यम विकास, बजारीकरण लगायतका विषयमा समानान्तर रूपमा ९ सत्रमा ४४ जना विशिष्ट व्यक्तित्वबाट २३ वटा कार्यपत्र प्रस्तुत हुनेछ ।कार्यक्रमस्थललाई बाँसकै सामाग्रीहरूले सजाइएको छ भने स्टलहरू पनि बाँसकै राखिएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नका लागि जिल्लास्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आफ्नो कार्यकक्षमा समेत बाँसबाटै बनेका सामग्रीहरु प्रयोग गरिरहेका छन् ।
सरकारी तवरबाट हालसम्म बाँस प्रयोगमा नीतिगत व्यवस्था नभएकाले आवश्यक नीति निर्माण गर्न दबाब सिर्जना गर्न सम्मेलन महत्त्वपूर्ण हुने बताइएको छ ।
राससको सहयोगमा
प्रतिक्रिया