काठमाडौँ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोक विजय अधिकारीले सिन्धुपाल्चोकको भैरव कुण्ड केन्द्रबिन्दु आज बिहान गएको भूकम्प पुरानै भूकम्पको पराकम्प भएको बताएका छन् ।
उनले २०७२ वैशाख १२ गते गोरखामा केन्द्रविन्दु भएको गएको भूकम्पको पराकम्प भएको जानकारी दिएका हुन् ।
उनले भने,‘यो कुनै नयाँ किसिमको भूकम्प होइन । यो २०७२ वैशाख १२ गते उत्तरी गोरखाको बार पाक केन्द्रबिन्दु गरी गएको भूकम्पको परकम्प हो ।
त्यस्तै सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी किरण थापाले अहिलेसम्म कुनै जटिल किसिमको भौतिक र मानवीय क्षति नभएको जानकारी दिए ।
उनले दुगुना गडीमा सामान्य पहिरो गएको र प्रहरी चौकीको भवन पनि सामान्य चर्केको जानकारी दिए ।
साथै उनका अनुसार जिल्ला कारागारको दोस्रो तलाबाट हाम फाल्ने क्रममा एक जना कैदी बन्दीको हात भाँचिएको र उनको उपचार भइरहेको छ ।
उनले भने,‘भूकम्पको क्षति सामान्य नै छ । अहिलेको प्राप्त विवरण अनुसार त्यस्तो ठुलो भौतिक र मानवीय क्षति केही भएको छैन ।
दुगुना गडीमा चाहिँ सामान्य पहिरो गएको छ । प्रहरी चौकीको भवन पनि सामान्य चर्केको छ र कारागारको दोस्रो तलाबाट हाम फाल्ने क्रममा एक कैदी बन्दीको हात भाँचिएको कारण उपचार भइरहेको छ त्यही नै हो । त्यस्तो अरू केही छैन विवरण ।’
त्यस्तै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी निराजन श्रेष्ठले पनि भूकम्पको सामान्य क्षति रहेको बताउँदै विवरण सङ्कलन गर्ने काम जारी रहेको बताए ।
शुक्रवार बिहान राति २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको भैरव कुण्ड केन्द्रबिन्दु भएर ६.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो ।
प्रतिक्रिया