विराटनगर : हालै गएको भूकम्पका कारण संखुवासभा र भोजपुरका दुई घरमा क्षति पुगेको छ। यद्यपि, कुनै मानवीय क्षति नभएको प्रहरीको भनाइ छ।
कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीका अनुसार संखुवासभाको भोटखोला गाउँपालिका–१, किमाथांकाका ३८ वर्षीय फुर्पु नावाको घर आंशिक रूपमा क्षतिग्रस्त भएको छ। ढुंगाको गाह्रो र टिनको छानो भएको दुईतले घरको पूर्वी भाग भासिएको छ, जसका कारण पर्खाल चर्किएको छ। तर, घर मानिस बस्न सक्ने अवस्थामै रहेको अधिकारीले जानकारी दिए।
त्यस्तै, भोजपुरको षडानन्द नगरपालिका–१३, पातलका ६४ वर्षीय सन्तबहादुर तामाङको घरमा पनि भूकम्पको असर देखिएको छ। ढुंगा र माटो प्रयोग गरी बनाइएको तीनतले घरको गाह्रो चर्किएको छ भने नजिकै रहेको ग्वाली घरसमेत क्षतिग्रस्त भएको छ।
डीआईजी अधिकारीले भूकम्पका कारण अन्य क्षेत्रबाट कुनै ठूलो क्षतिको सूचना नआएको बताएका छन्। पहाडी क्षेत्रमा केही घर चर्किए पनि तराई क्षेत्रमा कुनै असर नदेखिएको प्रहरीको भनाइ छ। स्थानीय तह र जनप्रतिनिधिहरूसँग समन्वय गरी थप विवरण संकलन भइरहेको छ।
यो भूकम्प शुक्रबार बिहान २:५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको गएको थियो।
प्रतिक्रिया