कोशी प्रदेशमा भूकम्पको असर: तीन जिल्लाका चार घरमा क्षति

शुक्रबार, १६ फागुन २०८१
विराटनगर : कोशी प्रदेशका तीन जिल्लामा गएको भूकम्पका कारण चार घरमा क्षति पुगेको छ। सङ्खुवासभा, भोजपुर, र सोलुखुम्बु जिल्लाका विभिन्न स्थानमा घर चर्किएका छन्। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका अनुसार सङ्खुवासभामा दुई घर तथा भोजपुर र सोलुखुम्बुमा एक–एक घरमा क्षति पुगेको छ। भूकम्पका कारण कुनै मानवीय वा चौपाया क्षति भएको छैन। कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिका–१, किमाथांकाका ३८ वर्षीय फुर्पु नावा तामाङको दुई तले ढुंगामाटोले बनेको घरको पूर्वी भाग भासिएर आंशिक क्षति पुगेको छ। घरको पर्खाल चर्किएको भए पनि मानिस बस्न मिल्ने अवस्थामा रहेको छ। सङ्खुवासभाकै पाँचखपन नगरपालिका–१ का लाक्पा दोर्जे तामाङको ढुंगा-माटोले बनेको फुसको छानो भएको दुई तले घरमा पनि सामान्य क्षति पुगेको छ। भोजपुरको षडानन्द नगरपालिका–१३, पातलका ६४ वर्षीय सन्तबहादुर तामाङको घरमा समेत भूकम्पको असर परेको छ। उनको ढुंगा-माटोले बनेको टिनको छानो भएको दुई तले घरको पर्खाल चर्किएको र नजिकै रहेको ग्वाली घरसमेत क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। सोलुखुम्बुको सोताङ गाउँपालिका–३ का गोपाल बस्नेतको घरमा पनि भूकम्पले असर गरेको छ। ढुंगा-माटोले बनेको टिनको छानो भएको उनको दुई तले घरको पूर्वी भागको पर्खाल चर्किएको छ। डीआईजी अधिकारीका अनुसार भूकम्पले कोशी प्रदेशका अन्य स्थानमा ठुलो क्षति पुर्‍याएको विवरण प्राप्त भएको छैन। भूकम्पले थप कतै क्षति गरेको छ कि भनेर बुझ्नलाई प्रहरी परिचालन गरिएको छ । पहाडी क्षेत्रमा सामान्य क्षति देखिए पनि तराईमा कुनै असर नपरेको उनले बताए। स्थानीय तह र जनप्रतिनिधिसँग समन्वय गरी क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको छ। कोशी प्रदेशका १४ जिल्लामध्ये अन्य क्षेत्रमा कुनै ठुलो जनधनको क्षति नभएको प्रारम्भिक रिपोर्टले देखाएको डीआईजी अधिकारीले जानकारी दिए। यो भूकम्प शुक्रवार राति २स्५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको रहेको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार