'अझै थुप्रै गर्न बाँकी छ' भन्ने अठोटसहित राष्ट्र निर्माणको महाअभियानमा जुट्न राष्ट्रपति पौडेलको अपिल

शनिबार, १७ फागुन २०८१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माणमा सबैलाई सक्रिय रूपमा सहभागी हुन आग्रह गरेका छन्। उनले ‘केही भएन’ भन्ने होइन, ‘धेरै भइसकेको छ तर अझै गर्न धेरै बाँकी छ’ भन्ने अठोटका साथ अघि बढ्नुपर्ने बताए। श्रीमद्भगवत् ज्ञान महायज्ञ तथा धार्मिक पर्यटन महाउत्सव २०८१ को उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र जनताको संघर्ष, त्याग र बलिदानको परिणाम भएको स्मरण गराए। साथै, संविधान र लोकतान्त्रिक व्यवस्थाको मुख्य लक्ष्य आर्थिक समृद्धि भएकाले देशको आर्थिक विकासलाई प्राथमिकता दिनुपर्ने बताए। युवाको विदेश पलायन गम्भीर समस्या भएको उल्लेख गर्दै उनले यसको समाधानका लागि सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिए। "हामी सबैले युवाशक्तिको पलायन रोक्न ध्यान दिनुपर्छ। कृषि, जलस्रोत, पर्यटन, उद्योग र पूर्वाधार विकासमार्फत स्वदेशमै रोजगारी सिर्जना गर्न जरुरी छ," उनले भने। राष्ट्रपति पौडेलका अनुसार २०४६ सालपछिका परिवर्तनले गाउँगाउँमा सडक, बिजुली, पानी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत पूर्वाधार पुर्‍याएको छ। अबको मुख्य चुनौती स्वदेशमै रोजगारी सिर्जना गरी युवालाई विदेश जानबाट रोक्नु हो। उनले नीति निर्माण तहमा रहेका सबैलाई रोजगारीको अवसर बढाउनेतर्फ ध्यान दिन आग्रह गरे। पर्यटन प्रवर्द्धनको अपार सम्भावना रहेको पोखरालाई विश्वस्तरीय गन्तव्य बनाउनुपर्नेमा पौडेलले जोड दिए। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले यस क्षेत्रलाई विश्वसँग जोडेको भन्दै ‘जाउँ है पोखरा’ अभियानलाई अझ प्रभावकारी बनाउन सरकार, निजी क्षेत्र, पर्यटन व्यवसायी र स्थानीय समुदाय एकजुट हुनुपर्ने बताए। राष्ट्रपति पौडेलले पर्यटन पूर्वाधार विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने भन्दै लगानीमैत्री वातावरण निर्माणका लागि संघ, प्रदेश र स्थानीय सरकारलाई उपयुक्त नीति तथा कानूनी व्यवस्था गर्न आग्रह गरे। साथै, पोखरालाई आधुनिक, विकसित र सुविधासम्पन्न बनाउने दिशामा सबै पक्ष लाग्नुपर्ने आवश्यकता औंल्याए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार