विराटनगर : मोरङमा गैरकानुनी हिसाबले हिरासतमा राखिएका एक जना युवकको अवस्था गम्भीर बनेको छ ।
जिल्लाको केराबारी गाउँपालिका–६ घर भइ कानेपोखरी गाउँपालिका–५ मा बस्दै आएका ३५ वर्षीय तीर्थ भनिने विशाल विकलाई शुक्रबार राति इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा राखिएको थियो । उनीविरूद्ध कुनै पनि जाहेरी परेको छैन ।
किटानी जाहेरी नपरिकन प्रहरीले आफूखुसी हिरासतमा राखेको स्थानीयको भनाइ छ ।
कुनै व्यक्तिलाई पक्राउ गर्नुअघि अदालतबाट अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ । प्रहरीले नियन्त्रणमा लिनुअघि पक्राउ पुर्जी दिनुपर्छ । जरूरी पक्राउ पुर्जी थमाएर पनि प्रहरीले हिरासतमा राख्न सक्छ । तर, विकलाई भने जाहेरी र पक्राउ पुर्जी नै बिना हिरासतमा राखिएको थियो ।
उनीमाथि १४ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो । विक र उनका साथी (तत्काल पहिचान नखुलेका)ले १४ वर्षीया बालिकालाई पैसालगायतको प्रलोभन देखाएर यौन दुव्र्यवहार गरेको आरोप छ । प्रारम्भिक अनुसन्धानअनुसार उक्त घटना फागुन १४ गतेको हो ।
बालिकालाई यौन दुव्र्यवहार गरेको आरोप लागेका विकका साथी हाल फरार छन् । विकलाई भने स्थानीयले त्यही दिन कुटपिटसमेत गरेका थिए । घटनाका बारेमा प्रहरीले शुक्रबार मात्रै थाहा पाएपछि दुई पक्षलाई राखेर इलाका प्रहरी कार्यालयमा छलफल गराइएको थियो ।
‘छलफलका क्रममा विकले नभइकन उनका साथीले बालिकालाई यौन दुव्र्यवहार गरेको कुरा आयो । उनका साथी हाल फरार छन् । फरार रहेकालाई खोजी गर्न विकले सघाउने सहमति दुवै पक्षबीच भएको थियो । तर, विकलाई नै हिरासतमा हालियो,’ छलफलमा बसेका एक स्थानीयले भने ।
हिरासतमा राखिएका विक अचानक बिरामी परेको भनेर आफन्तलाई शनिबार बिहानका राति ३ बजेतिर मात्रै प्रहरीबाट खबर पुगेको थियो । ‘खबर आउनसाथ अटो टेम्पो रिजर्ब गरेर पुग्दा प्रहरीले उपचारका लागि पथरीशनिश्चरेको नगर अस्पताल पुर्याइसकेको रहेछ । हामीले भेट्दा अनुहारबाट रगत बगिरहेको र जिब्रो काटिएको अवस्थामा देख्यौं । रगत पनि बान्ता गरे,’ ती व्यक्तिले भने ।
उनका अनुसार हिरासतमा राखिएकै बेला अचानक बेहोस भएर ढलेको र त्यतिबेला जिब्रो काटिएको जानकारी प्रहरीले दिएको छ । त्यसपछि विकलाई थप उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्याइयो ।
उपचारका क्रममा अस्पतालको बेडबाट खसेर उनको टाउको फुट्यो । अवस्था गम्भीर बनेपछि एम्बुलेन्समा राखेर थप उपचारका लागि शनिबार बिहान ९ बजेतिर विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइयो । रक्ताम्य अवस्थामा नोबेल ल्याइएका उनको उपचार भइरहेको छ ।
अवस्था भने गम्भीर रहेको अस्पतालले जनाएको छ । प्रहरी हिरासतमा रहेका युवकको अवस्था गम्भीर हुनु आफैंमा शंकास्पद रहेको आफन्तले बताएका छन् ।
‘कानुन विपरीत कसैलाई पनि हिरासतमा राख्न पाइँदैन । त्यहाँमाथि हिरासतमा राखेर व्यक्तिको अवस्था गम्भीर हुनु प्रहरीको लापरबाही हो,’ नाम नखुलाउने शर्तमा एक कानुन व्यवसायीले भने ।
यता, इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले विकलाई जिम्मा लिएर लैजाने मान्छे नभएकाले प्रहरी कार्यालयमै राखिएको बताए । हिरासतमा भने नराखिएको उनको दाबी छ ।
‘बालिकालाई यौन दुव्र्यवहार गरेको कुरा आएपछि छलफल गराइयो । छलफलपछि विकलाई जिम्मा लिएर लैजाने मान्छे कोही भएनन् । जिम्मा लिने नआएसम्मका लागि भनेर प्रहरी कार्यालयमै राखिएको थियो । हिरासतमा राखिएको हैन । तर, एक्कासि बेहोस भएर ढलेको अवस्थामा देखेपछि उपचारका लागि अस्पताल लगियो । अस्पताल पुर्याउँदा जिब्रो काटिएको थाहा भयो,’ दाहालले भने ।
कमजोरी लुकाउन पीडितका बाबुलाई पक्राउ
गैरकानुनी हिरासतमा राखिएका विकको अवस्था गम्भीर बनेपछि यौन दुव्र्यवहारबाट पीडित बनेको भनिएकी बालिकाका बुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्थानीयका अनुसार प्रहरीले आफ्नो कर्तुत लुकाउन र घटनालाई अन्यत्र मोड्न घटनाबाट पीडित बनेकी १४ वर्षीया बालिकाका बुवालाई नियन्त्रणमा लिएको दाबी गरेका छन् ।
उनलाई शनिबार विराटनगरबाट नियन्त्रणमा लिएर हिरासतमा राखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
जबकि, ती बालिकाका बुवा आफ्नी छोरीमाथि यौन दुव्र्यवहार भएको भनेर आफैं न्यायको खोजीमा छन् । बालिकामाथि भएको घटना बाहिर आएपछि विकलाई स्थानीयले फागुन १४ गते कुटपिट गरेका थिए ।
विकलाई कुटपिट गरिएको घटनामा संलग्न रहेको पाइएपछि नियन्त्रणमा लिइएको र थप अनुसन्धान अघि बढाइएको डीएसपी जोशीले बताए । इलाका प्रहरी कार्यालय पथरीमा शुक्रबार छलफल हुँदा भने प्रहरीले कसैलाई पनि नियन्त्रणमा लिएन ।
छलफलमार्फत घटना टुंग्याउने ध्याउन्नमा रहेको प्रहरीले हिरासतमा राखिएका युवकको अवस्था गम्भीर बनेपछि कुटपिटमा संलग्न भएको भनेर पीडितकै बुवालाई पक्राउ गरेको हो ।
यो घटनामा प्रहरीको भूमिकामाथि नै शंका गर्न बाध्य भएको स्थानीयको भनाइ छ ।
प्रतिक्रिया