‘केपी ओली कप’ को समापनमा चर्चित कलाकारहरूले प्रस्तुति दिने

आइतबार, १८ फागुन २०८१
काठमाडौँ । ‘केपी ओली कप’ फुटबल प्रतियोगिताको फाइनल खेल यही फागुन १९ गते हुने भएको छ । राष्ट्रिय युवा सङ्घ, नेपालले पत्रकार सम्मेलन गर्दै कुल नौ टिमले सहभागिता जनाएको यस प्रतियोगिताको फाइनल खेल मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लबकाबीच फागुन १९ गते साँझ ५ः३० बजे दशरथ रंगशालामा हुने जनाएको हो । फाइनल खेलमा विश्व चर्चित फुटबल खेलाडी इटालीका लिजेण्ड गोलकिपर जियानलुइजी बुफन प्रमुख अतिथिको रूपमा उपस्थिति रहने समेत राष्ट्रिय युवा सङ्घ, नेपालले जनाएको छ । खेलकुद र मनोरञ्जनको संयोजन रहेको यस प्रतियोगिताको समापन समारोहमा चर्चित राष्ट्रिय कलाकारहरू कुमा सागर, पूर्ण राईलगायतको बेजोड प्रस्तुति समेत रहनेछ । प्रतियोगिताको प्रथम हुनेलाई रु १५ लाख ११ हजार एक सय ११ रुपैंया, द्वितीय हुनेलाई रु पाँच लाख नगद, ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ । त्यस्तै उत्कृष्ट खेलाडीलाई रु एकलाख, उत्कृष्ट गोलरक्षकलाई रु ५० हजार, उत्कृष्ट गोलकर्तालाई रु ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई रु ५० हजार, म्यान द म्याचलाई रु १५ हजार नगदको साथै ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कारहरू प्रदान गरिने छ । त्यस्तै हरेक खेल विजेता टिमलाई रु २५ हजार नगद प्रदान गरिने छ । दशरथ रंगशालामा दर्शकहरूको उपस्थिति हजारौँ र ऐतिहासिक हुने अनुमान गरिएको छ । त्यस कारण फाइनल खेल हुने दिन फागुन १९ गते दिउँसो ४ बजेदेखि बेलुकी ८ बजेसम्म थापाथलीदेखि त्रिपुरेश्वर सडकमा खण्डमा सवारी साधन आवाज जावतमा कठिनाइ हुने देखिएकाले वैकल्पिक मार्गको व्यवस्था गर्न राष्ट्रिय युवा सङ्घ, नेपालले ट्राफिक प्रहरीलाई विशेष अनुरोध गरेको जनाएको छ । सो दिन त्रिपुरेश्वरस्थित वल्डट्रेड सेन्टरको डिजिटल बोर्डबाट समेत खेलको प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण ‘कान्तिपुर टेलिभिजन’ले गर्नेछ भने टिकेटिङ पार्टनर ‘खल्ती’ रहेको छ । यसको साथै अन्य विभिन्न सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण हुनेछन् । प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण कार्यहरूको आवश्यक तयारी पुरा गरिसकेको राष्ट्रिय युवा सङ्घ, नेपालले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । ‘केपी ओली कप’ फुटबल प्रतियोगिताको प्रचारप्रसारको लागि जिल्ला जिल्लाहरूमा पनि प्रचारात्मक कार्यक्रमहरू गरिएको थियो ।  

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार