सप्तरीका सिडियो भन्छन् : 'बाघ नियन्त्रणमा आएको छैन'

सोमबार, १९ फागुन २०८१
इटहरी । सप्तरीको फत्तेपुरमा बाघ गाउँ पसेपछि त्यहाँका अहिले त्यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । आज बिहान सप्तकोसी नगरपालिका वडा नम्बर– १ फत्तेपुरको इलाका वन कार्यालय नजिकैबाट बाघ गाउँ छिरेको हो । बाघले केही व्यक्तिलाई आक्रमण गरेको र नियन्त्रणमा लिने प्रयास गरे पनि अहिलेसम्म नसकेको सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिएका छन् । उनका अनुसार बाघलाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालय, इलाका वन कार्यालय फत्तेपुरको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै नेपाली सेनाको टोली परिचालित भएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट गएको टोली भने फर्किएको छ । टोलीमाथि नै स्थानीयले आक्रमणको प्रयास गरेकाले त्यहाँबाट फिर्ता भएको कार्यालयका सूचना अधिकारी मिथिलेस महतोले जानकारी दिए । ‘हाम्रो क्षेत्रभित्र परेको अवस्था थिएन तर, नियन्त्रणका लागि टोली गए पनि त्यहाँबाट सहयोग प्राप्त भएन । मान्छे होहल्ला गर्ने र टोलीमाथि नै आक्रमण गर्ने अवस्था आएपछि टोली फर्किएको छ ।’ उनले भने । नजिकै रहेको बन क्षेत्रबाट पसेको बाघले आक्रमण गर्दा तीन जना घाइते समेत भएका छन् । घाइते हुनेमा स्थानीय रिजन गोसाईं, गणेश खत्री, कृष्ण विष्ट घाइते भएका हुन् । घाइतेमध्ये कृष्ण विष्टलाई उपचारको लागि इटहरी ल्याइएको छ भने दुई जनाको स्थानीय स्वास्थ्य संस्थामै उपचार भइरहेको प्रजिअ दाहालले बताए ।

यो पनि

https://pradeskhabar.com/?p=89123

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार