धरान । बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरानको रकम हिनामिना तथा अपचलन गरेको कसुरमा २ सय ६२ जना विरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।
बराह सहकारीले सर्वसाधारणको १० अर्ब ७३ करोड भन्दा बढी रकम ठगी गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले सहकारीका सञ्चालक, कर्मचारीसँगै ऋण लिएर नतिर्ने ऋणीहरूलाई पनि प्रतिवादी बनाएर गत बिहीबार जिल्ला अदालत सुनसरीमा अभियोग पत्र दायर गरेको इलाका प्रहरी कार्यालय सुनसरीको प्रमुख एसपी सुमन कुमार तिम्सिनाले जानकारी दिए ।
जसमा मुद्दा दायर भएकोहरु मध्ये ३५ जनालाई सङ्गठित अपराध निवारण ऐन २०७० र सहकारी ऐन २०७४ बमोजिम कसुरमा सजायको माग दाबी गरिएको छ भने २ सय १० जना ऋणी सहित २ सय २२ जनालाई सहकारी ऐन २०७४ बमोजिमको कसुरमा सजाय माग गरिएको छ र पाँच वटा कम्पनीलाई पनि सम्पत्ति जफत गर्न प्रतिवादी बनाइएको छ ।
आम नागरिकहरूको बचत रकम सहकारीले हिनामिना तथा अपचलन गरेको जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी निरीक्षक दिनेश अधिकारीको नेतृत्वमा अनुसन्धान गरेको थियो । उक्त अनुसन्धानको प्रतिवेदनले कुल १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९ सय १३ रुपैयाँ रकम हिनामिना तथा अपचलन गरी ठगी भएको निष्कर्ष निकालेको थियो ।
सोही अनुसार मुद्दा दर्ता भएका मध्ये २ सय १० जना ऋणीहरूलाई सहकारी ऐन २०७४ को दफा १२२ को (छ), (झ) र (ञ) बमोजिमको कसुर गरेको अभियोगमा दफा १२४ को उपदफा १ को उपदफा १ को खण्ड (घ) को २ बमोजिम सजाय हुनुपर्ने माग दाबी गरिएको छ ।
बराह सहकारीका सञ्चालक र उच्च तहका कर्मचारीहरूलाई भने सहकारी ऐन २०७४ र सङ्गठित अपराध निवारण ऐन २०७० बमोजिम कारबाही तथा सजायको माग गरिएको छ ।
यो दुवै कसुरमा बराह ग्रुप अफ कम्पनीका अध्यक्ष शिवकुमार विश्वकर्मा(लामिछाने), उनकी बहिनी मन्दिरा लामिछाने, सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्मा, हरिकुमार धमला (विश्वकर्मा), प्रकाश लामगादे, शुभ राज खाती, विकास लामगादे, सुरेश विक, शोभराज भन्ने अम्बरबहादुर विश्वकर्मा, रवि पोर्तेल, पूर्णबहादुर कालिकोटे भन्ने पूर्णकुमार विश्वकर्मा, रिना राई (लामिछाने), भोजमान लामगादे, गङ्गाबहादुर कालिकोटे, शरण विश्वकर्मा, विकास भन्ने विकास गजमेर, लालबहादुर विश्वकर्मा, कृष्णा भन्ने अम्बर प्रसाद खाती, सुदिन बिक, कुमार दुतरात भन्ने कुमार विक, अनुपकुमार खड्गी, विष्णुकुमारी तुलाधर, अस्मिता भण्डारी, दातेन्जी शेर्पा लगायत छन् ।
प्रहरीमा सहकारी पीडितहरूबाट २ सय ८१ वटा जाहेरी सङ्ख्या परेको प्रमुख तिम्सिनाले बताए । जसमा ४ हजार १ सय ६८ जना पीडितहरूले जाहेरी दिएका छन् । धरान बाहेक अन्य ठाउँ तथा विदेशमा समेत पीडितहरू रहेकाले अझै पीडितहरूको सङ्ख्या बढ्ने उनले बताए । मुद्दामा पक्राउ परेकाहरूको आइतबारबाट अदालतमा बयान सुरु भएको छ ।
अभियोग दर्ता भएका मध्ये हाल १३ जना मात्र पक्राउ परेका छन् भने अन्य फरार सुचीमा छन् ।
बराह सहकारीमा लिएको रकम तिरिसकेको भए पनि पुनः ऋणीमा नाम आएको भनी गुनासो आएकोले ऋणीहरूले आफूले ऋण तिरेको बिल सहित अदालतमा पेस हुनु पर्ने एसपी तिम्सिनाले बताए ।
प्रतिक्रिया