काठमाडौँ । नेपाल कानुन आयोगका पूर्व अध्यक्ष माधव पौडेलले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित भयो भने पानी जहाज चलाउन पाउने र आफ्नो झण्डा राख्न पाउने अधिकार प्रयोग गर्न सकिने बताएका छन् ।
राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिमा भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा सम्बन्धी छलफलमा उनले भूपरिवेष्टित मुलुकले पानी जहाज चलाउन पाउने, आफ्नो झण्डा राख्न पाउने, बन्दरगाह प्रयोग गर्न पाउने र विदेश भ्रमण गर्न पाउने सुविधाहरूलाई ऐन आएर कार्यान्वयन गर्नसके प्रभावकारी हुने बताए ।
उनले भने, ‘हामीले भूपरिवेष्टित राष्ट्र र मुलुकले पानी जहाज चलाउन पाउने, आफ्नो झण्डा राख्न पाउने, बन्दरगाह प्रयोग गर्न पाउने र विदेश भ्रमण गर्न पाउने जुन सुविधाहरू थियो त्यो सुविधालाई ऐन आएर कार्यान्वयन गर्न सक्यौ भने प्रभावकारी हुनसक्ने सम्भावना छ । ऐन आउनु भनेको एक कदम अगाडि बढ्नु हो । यसले सोचे अनुसारको परिणाम दिन सक्यो भने प्रशस्त सम्भावनाहरू पहिल्याउन सकिन्छ ।’ यसका साथै, उनले नीतिमा धेरै नै लामो परिमार्जनको आवश्यकता रहेको भन्दै यसमा निकै नै गृहकार्य गर्नुपर्ने बताए ।
उनले भने, ‘यो नीतिले धेरै नै लामो परिमार्जनको आवश्यकता मागेको छ, सदस्यहरूले यसमा निकै नै गृहकार्य गर्नुपर्ने छ । नेपालको पानी जहाज जहाँ गएर बसे पनि ऐन लागू हुने कुरा राखौँ । नेपालभित्र प्रवेश गरेको विदेशी जहाजमा पनि यो ऐन अनुसार लागू हुन्छ भनेर राखौँ ।’
प्रतिक्रिया