झापा : चरा तथा वन्यजन्तु संरक्षण अभियन्ता देवेन्द्र खरेलले नेपालमा ‘बैजनी बुङ्गेचरा’ नामको नयाँ चरा फेला पारेका छन् । नेपाल पन्छीविद् सङ्घले उक्त चरा नेपालमा नयाँ रहेको पुष्टि गरेको खरेलले बताए ।
‘बैजनी बुङ्गेचरा’ फेला परेसँगै नेपालमा पाइने चराको सङ्ख्या अब ८ सय ९८ पुगेको छ । मेचीनगर–६ काँकडभिट्टा निवासी संरक्षण अभियन्ता खरेलले यसअघि ‘हरित परेवा’ नामक अर्को नयाँ चरा नेपालमा फेला पारेका थिए ।
खरेलका अनुसार ‘बैजनी बुङ्गेचरा’को अङ्ग्रेजी नाम ‘पर्पल रम्प सनबर्ड’ हो । भारत, श्रीलङ्कालगायतका कतिपय मुलुकमा यो चरा पाइएको छ । चरा अवलोकनको क्रममा खरेलले २०८१ फागुन ७ गते बिहान ८ः३० बजे काँकडभिट्टाको एक बगैँचामा ‘बैजनी बुङ्गेचरा’को जोडीको पहिलो तस्बिर र भिडियो खिचेका थिए ।
खरेलले फागुन ९ गते उक्त तस्बिरलाई नेपाल वर्ड रेकर्ड कमिटीमा पुष्टिका लागि पठाएका थिए । सङ्घका अध्यक्ष डा.तुलसी सुवेदीले मङ्गलवार प्रेस विज्ञप्तिमार्फत ‘बैजनी बुङ्गेचरा’ थपिएको उल्लेख समेत गरेका छन् ।
प्रतिक्रिया