विराटनगर : विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफले विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुुरुवात गरेको छ ।
विराटनगरको सहिद रंगशालामा मंगलबार भएको दोस्रो दिन खेलमा भारतको सुदेभा दिल्ली फुटबल क्बललाई टाइबेकरमा ५–३ गोलले हराउँदै एपीएफ क्वाटरफाइनलमा पुगेको हो ।
निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । समय सीमाभित्र दुवै टोलीले उत्कृष्ट एवं राम्रा अवसरको सदुपयोग गर्न सकेनन् । जसका कारण खेल टाइब्रेकरमा धकेलियो ।
बारम्बारको महत्वपूर्ण अवसर खेर जाँदा पाहुना टोली शुभेदा दिल्ली फुटबल क्लब अभागी ठहरियो । नेपालको विभागीय टोलीसँग निराश हुँदै पहिलो खेलबाटै घर फर्किन बाध्य भयो ।
एपीएफले निर्धारित समयमा गोल फर्काउन नसक्दा जित निकाल्न टाइब्रेकरसम्म पुग्नुपर्यो । टाइब्रेकरमा एपीएफका सुमन श्रेष्ठ, दिपेश धिमाल, मणिकुमार लामा, सविन गुरुङ र अनिल श्रेष्ठले गोल गरेका थिए ।
शुभेदा दिल्लीका तर्फबाट राहिथ, पीसी र उदितको प्रहारले मात्रै जाली चुमेको थियो । रमेशको प्रहारमा एपीएफका गोलरक्षक एन्जल श्रेष्ठ बाधक बने ।
श्रेष्ठ खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद ११ हजार प्राप्त गरे ।
प्रतियोगितामा दुई वटा भारतीय टिमको सहभागिता रहेको छ । सोमबार राति सम्पन्न पहिलो खेलमा आयोजक मोरङ रिजालको एफएले भारतको साउथन समिति कोलकातालाई ३–२ गोल अन्तरले पराजित गरेको थियो ।
बुधबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र आयोजक मोरङ रिजालको एफएबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया