महिला गोल्ड कप : आर्मी र एपीएफ दुवै टोली उपाधि उचाल्ने होडमा

शुक्रबार, २३ फागुन २०८१
इलाम : दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्ड कप २०८१ को उपाधि रक्षाका लागि दुई विभागीय टिम त्रिभुवन आर्मी र एपीएफ क्लब भिड्ने भएका छन् । इलामको ठुलो टुँडिखेलमा शनिवार यी दुई टिम आमनेसामने हुने भएका हुन् । आर्मीले पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन पाहुना टोली भारतको मानेभञ्ज्याङ र सेमिफाइनलमा आयोजक ओएसिस क्लब इलामलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । एपीएफले पहिलो खेलमा पाहुना टोली भारतको मदर टेरेसा फुटबल क्लबलाई फराकिलो गोल अन्तरले र सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिसलाई पराजित गर्दै उपाधिका लागि आर्मी सँगको भेट पक्का गरेको हो । एपीएफलाई इलामको मैदानमा हराउने रणनीतिमा हुने आर्मीका प्रशिक्षक कृष्ण सिंह टुङ्नाले शुक्रवार भएको प्री म्याच कन्फ्रेन्समा बताए । उनले सधैँको चिरपरिचित प्रतिस्पर्धी भएकाले आफूहरूले जित्ने दाबी गरे । यता एपीएफका प्रशिक्षक जिवेश पाण्डेले पनि खेल रोचक हुने बताए । चिनेको विपक्षी खेलाडीहरू भएकोले सहज हुने र इलामको मैदान पनि अब परिचित हुँदै गएकाले समस्या नभएको उनको भनाई छ । गत फागुन १७ गतेबाट जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको आयोजना क्लब ओएसिस इलामले गरेको हो । उपाधि विजेता टोलीले नगद ४ लाख र उपविजेता टिमले नगद २ लाख पाउने छ । प्रतियोगितामा नेपालका ३ विभागीय टिम सहित आयोजक ओएसिस इलाम, पदमा स्पोर्टिङ क्लब ओखलढुङ्गा, बाग्मती स्पोर्टिङ क्लब सर्लाही र पाहुना टोली छिमेकी देश भारतका २ टोली मदर टेरेसा एफसी र मानेभञ्ज्याङ एफसीले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार