विराटनगर : विराटनगरको बाल सुधारगृहभित्र शुक्रबार साँझ दोहोरो झडप भएको छ । झडपमा परेर ३ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार विराटनगर महानगरपालिका–३ स्थित बाल सुधारगृहमा साँझ पौने ८ बजेतिर झडप भएको हो । सुधारगृहका प्रमुख मिलन चौहानले झडपमा परेर घाइते भएकालाई अस्पताल भर्ना गरिएको जानकारी दिए । घाइतेको अवस्था सामान्य रहेको उनले बताए ।
घाइते ३ जना नै २२ वर्षका छन् । २ जना पाँचथर र १ जना सुनसरीका हुन् । चौहानका अनुसार घाइते हुनेमा कर्तव्य ज्यान तथा जबरजस्ती करणी मुद्दामा अदालतले सजाय सुनाएकाहरु छन् ।
कानुनी विवादमा परेका १८ वर्षमुनिका बालकलाई अदालतको फैसला र आदेश अनुसार सुधारगृहमा राखिन्छ । तर, बालक हुँदा सुधारगृहमा राखिएकाहरु अहिले युवा भइसके । गृह प्रमुख चौहानले सुधारगृहमा २ पक्षबीच झडप भए पनि कारण खुलिनसकेको बताए ।
‘एक्कासि झडप भयो । ३ जना घाइते भए । तर, घटनाको कारण थाहा छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ,’ उनले भने । घटनाको अनुसन्धानमा मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया आफैं खटिएका छन् । चिमरिया नेतृत्वको टोलीले विवाद साधानका लागि समन्वय गरेको चौहानले बताए ।
सुधारगृहभित्रको अवस्था साम्य बनेपछि मात्रै घाइतेलाई उद्धार गरेर उपचारका लागि पठाउन सम्भव भएको उनको भनाइ छ । उनका अनुसार सुधारगृहको क्षमता ५० जनाको हो । तर, शुक्रबार २ सय ४९ जनालाई राखिएको छ ।
सुधारगृहभित्र रहेकामध्ये १८ वर्ष कटेर बालिग भएकाहरुको संख्या धेरै छ । १८ वर्षमाथिका १ सय २४ जना छन् । उनीहरु बालक हुँदै कानुनी विवादमा परेर सजाय भुक्तान गरिरहेका छन् । तर, व्यवस्थापन गर्ने सम्बन्धी कानुनको अभावले बालिग भइसकेपछि पनि सुधारगृहभित्रै राखिन्छ ।
युवा अवस्थामा पुगेकालाई बालकहरुसँगै राखिएको छ । सुधारगृहका प्रमुख चौहानले क्षमताभन्दा धेरैलाई राख्नु पर्दा समस्या बढेको बताए । उनले सुधारगृहभित्रको अवस्था समस्याग्रस्त रहेको सुनाए ।
प्रतिक्रिया