इटहरी: सुनसरीको कोशी गाउँपालिका–७ केरावारीस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान ९:४० बजे सवारी दुर्घटना भएको छ।
सिन्धुलीबाट काकडभिट्टातर्फ गइरहेको मे १ ख १९९४ नम्बरको बसले ओभरटेक गर्ने क्रममा बा प्र.०३-००१ क १०७४ नम्बरको ट्रकलाई ठक्कर दिएर पुनः विपरीत दिशाबाट आइरहेको प्र.०२-०३-००९ प ४६६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
घटनामा परी चार जना घाइते भएका छन्। मोटरसाइकल चालक रौतहट गौर नगरपालिका–७ का २८ वर्षीय राजन पण्डितको छाती, कुम र दाहिने खुट्टामा चोट लागेको छ भने उनी विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचाररत छन्।
बसमा सवार सिन्धुली कमला नगरपालिका–९ की ३२ वर्षीया माया लामाको खुट्टामा सामान्य चोट लागेको छ भने धनुषा लालगञ्ज नगरपालिका–१० का ७६ वर्षीय कृष्ण पौडेल र ७६ वर्षीया सीता देवी पौडेलको खुट्टामा पनि सामान्य चोट लागेको छ।
उनीहरू तीनै जनाको कोशी अस्पताल, भण्टाबारीमा उपचार भइरहेको छ।
दुर्घटनामा परी बस चालक झापा अर्जुनधारा नगरपालिका–३ का ५५ वर्षीय मित्रसिं आलेमगर र ट्रक चालक सुनसरी इटहरी उपमहानगरपालिका–८ का २५ वर्षीय सिताराम बिकलाई इलाका प्रहरी कार्यालय लौकहीले नियन्त्रणमा लिएको छ।
प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया