विराटनगर । भोजपुरमा २४ वर्षअघिको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
अदालतबाट २० वर्ष कैद सजायको फैसला भए पनि लामो समयदेखि फरार रहेका अभियुक्त पौवादुङमा गाउँपालिका–६ का ४६ वर्षीय शान्तकुमार राईलाई पक्राउ गरिएको भोजपुर प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर दीपक श्रेष्ठले बताए ।
उनका अनुसार शान्तकुमारसहित २ जनाले २४ वर्षअघि साविकको ठूलोदुम्मा गाविस–८ का विजयकुमार राईको हत्या गरेका थिए ।
२०५७ साल साउन १३ गते मरणासन्न हुने गरी कुटपिट गरिएका विजयको उपचारका क्रममा साउन १८ गते मृत्यु भएको जानकारी इन्स्पेक्टर श्रेष्ठले बताए । उनका अनुसार विजयको मृत्यु भएपछि हत्यामा संलग्नहरु फरार बनेका थिए ।
भोजपुर प्रहरी प्रमुख डीएसपी युवराज तिमिल्सिनाले गाउँघरमा लुकिछिपी बसिरहेको सूचना प्राप्त हुनसाथ पक्राउका लागि टोली परिचालन गरिएको जानकारी दिए । खोजतलासका क्रममा फेला पारेर शान्तकुमारलाई आइतबार साँझ पौवादुङमा गाउँपालिकाको वास्तिमबाट पक्राउ गरिएको उनको भनाइ छ । हत्यामा संलग्नविरुद्ध घटनालगत्तै प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाएको थियो ।
जिल्ला अदालत भोजपुरले २०६७ साल साउन १७ गते मुद्दाको फैसला गर्दै अभियुक्तलाई १० वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।
तर, जिल्लाको फैसलालाई सर्वोच्च अदालतले उल्टाइदियो । जिल्लाको फैसला उल्टाउँदै सर्वोच्चले २०६९ वैशाख २२ गते मुद्दाका अभियुक्तलाई दोब्बर अर्थात २० वर्ष कैद सजाय हुने फैसला सुनायो ।
डीएसपी तिमिल्सिनाका अनुसार हत्याको घटनामा अदालतले दोषी ठहर गरेर कैदको फैसला सुनाएको भए पनि शान्तकुमार र अर्का अभियुक्त सजाय भुक्तान नगरिकन लामो समयदेखि फरार थिए ।
शान्तकुमारलाई पक्राउ गर्न सफल भएको प्रहरीले अर्का अभियुक्तको पनि खोजी जारी राखेको छ । पक्राउ परेकालाई पेस गरेपछि अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको जानकारी डीएसपी तिमिल्सिनाले दिए ।
प्रतिक्रिया