विराटनगर : कोशी प्रदेशका हिमाली तथा पहाडी जिल्लामा आज (बिहीबार) शान्तिपूर्ण रूपमा होली मनाइएको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीका अनुसार होली मनाउने क्रममा कुनै अप्रिय घटना भएन । ‘हिमाली तथा पहाडी जिल्लामा होली मर्यादित र शान्तिपूर्ण भएको छ ।
होलीलाई लक्षित गरेर त्यही अनुसारको सुरक्षा व्यवस्था पनि मिलाइएको थियो । सम्भावित घटना रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । तर, कुनै पनि अप्रिय घटना भएन,’ डीआईजी अधिकारीले भने ।
हिमाली एवम् पहाडी जिल्लामध्ये ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा बिहीबार होली मनाइएको प्रहरीले जनाएको छ । यद्यपि, उदयपुरका केही स्थानमा तराईमा मनाउने दिन होली खेल्ने चलन छ ।
होलीमा ट्राफिक नियम उल्लंघन गरेर चलाइएका केही सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
डीआईजी अधिकारीका अनुसार विभिन्न स्थानबाट दुई पाङ्ग्रे १० वटा, चार पाङ्ग्रे २ वटा तथा ३ पाङ्ग्रे एउटा सवारीसाधन नियन्त्रणमा लिएर प्रहरीले ‘होल्ड’ गरेको छ । नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कारबाही गरेर छाड्ने प्रहरीको तयारी छ ।
यसैबीच, शुक्रबार तराईमा होली मनाइँदै छ । हिमाली तथा पहाडी जिल्लामा होली मनाएको भोलिपल्ट तराईमा एकआपसमा रमाइलो गर्दै हर्षोल्लासपूर्ण मनाउने प्रचलन छ ।
कोशी प्रदेशमा झापा, मोरङ र सुनसरीसहित उदयपुरका केही स्थानमा शुक्रबार होली मनाइने तयारी छ । तराईको होलीलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको डीआईजी अधिकारीले बताए ।
उनका अनुसार राष्ट्रिय पर्व होलीलाई मर्यादित, भव्य र सम्भ तरिकाले मनाउने वातावरण बनाउन उच्छृङ्खल गतिविधि हुनसक्ने सम्भावित स्थानको पहिचान गरेर त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाइएको छ ।
विगतमा भएका अपराधिक एवं उच्छृङ्खल घटना तथा भिडभाड बढी हुने स्थानलाई लक्षित गरेर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिने अधिकारीले जानकारी दिए ।
सवारी दुर्घटना नियन्त्रणका लागि ठाउँठाउँमा ट्राफिक प्रहरीसहितको चेकजाँचको व्यवस्था मिलाइएको उनको भनाइ छ ।
होलीमा कुनै प्रकारका अप्रिय घटनाहरू नहुन् भन्ने उद्देश्यले सुरक्षा जाँचमा कडाइ गर्दै मोबाइल गस्ती, क्यूआरटी, सादा पोसाकसहित पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको डीआईजी अधिकारीले जानकारी दिए ।
रंगहरूको पर्व होलीमा कुनै पनि अवाञ्छित गतिविधि नगर्न सबैलाई सचेत गराइएको उनको भनाइ छ । पर्व मनाउँदा आ–आफ्नो धार्मिक, सांस्कृतिक, सामाजिक परम्पराको संरक्षण, सम्बर्द्धन र प्रवर्धनबाहेक अन्य उच्छृङ्खल गतिविधि गर्न नहुनेमा सुरक्षा निकायको जोड छ ।
एकअर्काको इच्छाविपरीत जबरजस्ती गर्न खोजे कानुनी कारबाहीको विषय बन्ने अधिकारीले बताए ।
उनका अनुसार रमाइलो गर्ने नाममा इच्छाविपरीत जबरजस्ती रंग र लोला हान्ने तथा फोहोर छ्याप्ने, बाटोमा हिँड्ने यात्रीलाई दुःख एवं कष्ट र हैरानी दिने, बाटो अवरोध गरी सवारीसाधनबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध सिर्जना गर्ने, मादक पदार्थ तथा नशालु पदार्थ खुवाउनेजस्ता कार्य गर्न पाइने छैन ।
त्यस्तै, मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउन, सार्वजनिक स्थानहरूमा हो–हल्ला गर्न, चर्को आवाजमा बाजा (डिजे) बजाउन, व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरू गर्न–गराउन रोक लगाइएको उनले बताए । प्रहरीले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर होली खेल्न अनुरोध गरेको छ ।
होली पर्वलाई व्यवस्थित, मर्यादित र मनोरञ्जनपूर्ण हिसाबले मनाउँदै समाजमा शान्ति, सुव्यवस्था र सद्धभाव कायम गर्ने कार्यमा सहयोग गर्न डीआईजी अधिकारीले सबैमा अनुरोध गरे ।
प्रतिक्रिया