मच्छिन्द्रलाई रोक्दै सप्तरीले उचाल्यो पाँचथर गोल्डकपको उपाधि

शनिबार, ०२ चैत्र २०८१
पाँचथर : मच्छिन्द्र फुटबल क्लब काठमाण्डौलाई हराउँदै नमोबुद्व फुटबल क्लब सप्तरीले पाँचौँ संस्करणको पाँचथर गोल्डकपको उपाधि उचालेको छ । शनिवार फिदिम माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न फाइनल खेलमा सप्तरीले मच्छिन्द्र फुटबल क्लब काठमाण्डांैलाई १–० गोल अन्तरले हराउँदै उपाधि उचालेको हो । सप्तरीको जीतमा विदेशी खेलाडी एलेक्सले ७२ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै सप्तरीले ११ लाख १ हजार १ सय ११ नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्दा उप विजेता मच्छिन्द्रले ५ लाख ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी प्राप्त गर्यो । शनिवारको खेलमा सप्तरीका निर्मल छिरिङ म्यान अफ दि म्याच घोषित हुँदै नगद ७ हजार पाँच सय सहित पुरस्कृत भए । सप्तरीकै दिपेश चाम्लिङ म्यान अफ दि टुनामेन्ट घोषित भएर नगद १५ हजार प्राप्त गरे । प्रतियोगिताभर समान ३–३ गोल गरेका नमो बुद्धका एलेक्स र चर्च ब्वाइजका राज भुसाल सर्वाधिक गोलकर्ता, आयोजक पाँचथर क्लबका निरोश लिङदेन राइजिङ प्लेयर, नमो बुद्धका सप्तरीका धनकुमार तामाङ उत्कृष्ट प्रशिक्षक, नमोबुद्वकै विवेक राई उत्कृष्ट मिड फिल्डर, मच्छिन्द्रका देबेन्द्र तामाङ उत्कृष्ट डिफेन्डर र नमोबुद्व सप्तरीका जयरत्न सेख उत्कृष्ट गोलकिपर घोषित भएका छन् । उनीहरूलाई नगद १० हजार सहित पुरस्कृत गरियो । पाँचौं संस्करणको पाँचथर गोल्डकप फागुन २४ गतेदेखि सुरु भएको थियो । प्रतियोगितामा नेपालका ४ वटा ए डिभिजन क्लब र भारतको हिल्स फुटबल एकेडेमी सहित आयोजक पाँचथर क्लब र सप्तरी गरी ८ टिम सहभागी थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार