एमाले नेता तथा पूर्वसांसद मोतीलाल दुगड कर नतिर्ने सूचीमा

आइतबार, ०३ चैत्र २०८१
विराटनगर : नेकपा (एमाले) नेता तथा पूर्वसांसद मोतीलाल दुगड कर नतिर्ने सूचीमा परेका छन्। आन्तरिक राजस्व कार्यालय विराटनगरले सार्वजनिक गरेको विवरणअनुसार उनले कर बुझाउन आनाकानी गरिरहेका छन्, जसका कारण राज्यलाई करोडौं रुपैयाँ घाटा भएको छ। उद्योगपति तथा पूर्वराज्यमन्त्रीसमेत रहेका दुगडको नाम आन्तरिक राजस्व कार्यालयले फागुन २० गते जारी गरेको १०१ कर नतिर्ने कम्पनीको सूचीमा समावेश गरिएको छ। सूचीमा दुगडको स्वामित्वमा रहेका विराटनगर-१४ स्थित एसिया केमिकल कम्पनी प्रा.लि, विराटनगर-१७ स्थित एसियन केम प्रा.लि, तथा विराटनगर-२ स्थित हैरिसन प्यालेस प्रा.लि.को नाम छ। यी कम्पनीहरूले आयकर तथा मूल्य अभिवृद्धि कर (भ्याट) नबुझाएको राजस्व कार्यालयले जनाएको छ। आन्तरिक राजस्व कार्यालयका अनुसार कर बुझाउन बारम्बार आग्रह गरिए पनि अटेर गरेपछि सार्वजनिक सूचना जारी गरिएको हो। सूचना जारी भएपछि हैरिसन प्यालेसले कर तिरेको भए पनि अन्य कम्पनीहरूले अझै बक्यौता रकम बुझाएका छैनन्। कार्यालयका सूचना अधिकारी नवराज भट्टराईका अनुसार दुई वर्षदेखि कर दाखिला नगरिएको र तिर्न बाँकी करको विवरण खुलाउन नमिल्ने बताए। दुगडले भने कर तिर्न केही ढिलाइ मात्र भएको प्रतिक्रिया दिएका छन्। ‘ट्याक्सको पैसा हो, १-२ महिना मात्र ढिलो भएको हो,’ उनले भने, ‘एउटा कम्पनीको कर मिलिसकेको छ, अर्को पनि मिल्नै लागिएको छ।’ तर, तथ्यांकले देखाएअनुसार उनका कम्पनीहरूले तीन वर्षदेखि भ्याट तथा आयकर बुझाएका छैनन्। कर नतिर्ने सूचीमा दुगड मात्र नभई नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अभिनाष बोहरा तथा भूमि कन्ट्रक्सन प्रा.लि.का सञ्चालक भावेश बोहरासमेत परेका छन्। भूमि कन्ट्रक्सन र भूमि इन्फ्रास्टक्चर निर्माण कम्पनीहरूले पाँच वर्षदेखि भ्याट र आयकर बुझाएका छैनन्। सरकारले राजस्व संकलन तीव्र पार्ने प्रयास गरिरहे पनि व्यवसायीहरू कर तिर्न ढिलाइ गरिरहेका छन्। आन्तरिक राजस्व कार्यालयका अनुसार कर असुली अभियानलाई अझ कडा बनाइनेछ। यसबीच, सार्वजनिक सूचना जारी भएपछि कतिपय व्यवसायीले कर तिरे पनि राज्यलाई अझै करोडौं रुपैयाँ राजस्व संकलन गर्न बाँकी रहेको अधिकारीहरूले बताएका छन्। हेर्नुहोस् आन्तरिक राजस्व कार्यालय विराटनगरले सार्वजनिक गरेको कर नतिर्ने कम्पनीहरूको सूची   

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार