काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले आउँदै गरेको वर्ष ०८२ सबै नेपालीका लागि अघिल्ला वर्षहरूभन्दा राम्रो होस् भन्दै शुभकामना दिएका छन्।
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ काठमाडौँ क्षेत्र नम्बर १ ले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान एवम् भित्ते पात्रो विमोचन कार्यक्रममा उपप्रधानमन्त्री सिंहले शुभकामना व्यक्त गरेका हुन् ।
‘नयाँ वर्ष सबैका लागि राम्रो होस् । सबै नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दछु । सबै जीवन सहज रूपमा अघि बढोस्,’उनले भने,‘ बितेका वर्षमा आशा गरे अनुसार गर्न नसकेका कामहरू सम्पन्न गर्नका लागि हामी सबैलाई सफलता मिलोस् । नेपालको राष्ट्रिय राजनीतिमा स्थिरताका लागि सरकारले काम गरिरहेको छ । जीवन र जीविकोपार्जन सहज बनाउन सरकारले काम गरिरहेको कुरा पनि भन्न चाहन्छु ।’ उनले नयाँ वर्षले सबैमा सकारात्मक सोचको विकास होस् भन्दै वर्ष ०८२ नेपाल र नेपाली जनताका लागि वर्ष ०८१ भन्दा राम्रो बन्ने विश्वास पनि व्यक्त गरे ।
कार्यक्रममा उपप्रधानमन्त्री सिंहले भित्ते पात्रो विमोचन पनि गरेका थिए । सो अवसरमा उपप्रधानमन्त्री सिंहले आफ्नो निर्वाचन क्षेत्रका कांग्रेस नेता,कार्यकर्ताहरूसँग शुभकामना आदान प्रदान गर्दै सबैमा सुख,शान्ति र समृद्धिको कामना गरे ।
प्रतिक्रिया