केराबारी गोली काण्ड : एम्बुलेन्सबाट ५ सय २१ किलो गाँजा बरामद

सोमबार, १४ पुस २०८२

विराटनगर । एम्बुलेन्सको दुरुपयोग गरेर ढुवानी गरिएको ठूलो परिमाणको गाँजा प्रहरीले गोली हानेर बरामद गरेको छ । 

प्रहरीले आइतबार राति गोली चलाएर नियन्त्रणमा लिएको एम्बुलेन्सबाट ५ सय २१ किलो गाँजा बरामद भएको हो । एम्बुलेन्सको आडमा गाँजा ओसारपसार गर्दै गरेको सूचना पाएर पुगेको प्रहरीले केराबारी गाउँपालिका–५ लाफा टोलमा आइतबार राति करिब ११ बजेतिर गोली हानेर गाँजा बरामद गरेको हो । 

प्रहरीले शंकास्पद एम्बुलेन्स रोक्न हवाई फायर गर्नुपरेको थियो । धनकुटाबाट मोरङतर्फ गाँजा ल्याइँदैछ भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय केराबारीको संयुक्त टोली परिचालन गरिएको थियो । बेलबारीबाट इन्स्पेक्टर राजीव गिरी र केराबारीबाट असई फजिन्द्र तोलाङ्गीको नेतृत्वमा खटिएको टोलीले प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई लाफा टोल क्षेत्रमा रोक्न खोजेको थियो ।

प्रहरीलाई देख्नेबित्तिकै एम्बुलेन्समा सवार व्यक्तिहरू भाग्न खोजेपछि प्रहरीले हवाई फायर गरेको हो । उनीहरूलाई नियन्त्रणमा लिन असई तोलाङ्गीले चाइनिज पेस्तोलबाट एक राउण्ड हवाई फायर गरे । गोली चलेपछि मात्र प्रहरी एम्बुलेन्स र त्यसमा सवार दुवै जनालाई नियन्त्रणमा लिन प्रहरी सफल भयो । त्यसपछि एम्बुलेन्सको खानतलासी गर्दा भित्र १६ वटा पोकाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला परेको थियो ।

बरामद गरिएको गाँजाको तौल गर्दा ५ सय २१ किलो पुगेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए । उनका अनुसार गाँजा ओसारपसार गर्न एम्बुलेन्स जस्तो संवेदनशील र मानवीय सेवाका लागि प्रयोग हुने सवारी साधनको दुरुपयोग गरिनु अत्यन्तै गम्भीर र चिन्ताजनक विषय हो । स्वास्थ्य सेवा दिनुपर्ने एम्बुलेन्सलाई लागुऔषध तस्करीको साधन बनाइनुले अपराधीहरूको दुस्साहस र संगठित सञ्जालको संकेत गर्ने प्रहरीको भनाइ छ ।

प्रहरीले गाँजा बोकेको एम्बुलेन्स चालक धनकुटाको सहिदभूमि गाउँपालिका–६ का ३५ वर्षीय निश्चल राई र एम्बुलेन्समा सवार रहेका साँगुरीगढी गाउँपालिका–२ का २० वर्षीय खगेन्द्र लिम्बूलाई पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानबाट एम्बुलेन्स धनकुटाको सहिदभूमि गाउँपालिका–१ खाल्सा–छिन्ताङस्थित सूर्यबहादुर थापा प्रतिष्ठानको नाममा दर्ता भई सञ्चालनमा रहेको खुलेको छ । यस विषयमा पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएको एम्बुलेन्स, बरामद भएको गाँजा र पक्राउ परेका दुवै जनालाई हाल इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ । उनीहरूविरुद्ध लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाउने तयारी भइरहेको एसपी कटवालले बताए । घटनामा अरू व्यक्ति वा गिरोहको संलग्नता छ कि छैन भन्ने पत्ता लगाउन समेत प्रहरीले अनुसन्धान थालेको छ ।

इन्स्पेक्टर राजीव गिरीको नेतृत्वमा अनुसन्धान टोलीले गाँजा कहाँबाट ल्याइएको थियो, कहाँ पुर्‍याउन लागिएको थियो र यसमा संलग्न सञ्जाल कति ठूलो छ भन्ने पाटोलाई केन्द्रमा राखेर अनुसन्धान गरिरहेको छ । एम्बुलेन्सबाट भएको ठूलो परिमाणको गाँजा बरामदले लागुऔषध कारोबार कति संगठित रूपमा फैलिएको छ भन्ने यथार्थलाई उजागर गरेको प्रहरीको भनाइ छ ।

यो पनि पढ्नुहोस् : बिरामी बोक्ने एम्बुलेन्समै गाँजा तस्करीः प्रहरीले गोली चलाएर दुईजनालाई नियन्त्रणमा लियो

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार