लयमा अर्थतन्त्र !

आइतबार, १४ बैशाख २०८२

काठमाडौं : नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनाले अर्थतन्त्र बिस्तारै लयमा आउन थालेको बताएकी छन् ।

आइतबार नेपाल राष्ट्र बैङ्कको ७० औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै ढुंगानाले विगत दुई वर्षदेखि घट्दै  गएको वस्तु  निर्यात र आयात चालु आर्थिक वर्षको कार्तिकदेखि बढ्न थालेको बताइन् । 

उनले भनिन्, ‘अर्थतन्त्र बिस्तारै लयमा आउन थालेको छ ।  आयात तथा निर्यात व्यापारमा सुधार भएको छ । बैकिङ क्षेत्रबाट प्रभावित कर्जा विस्तारले समेत गति लिन थालेको छ । पछिल्लो समय भएका कानुनी सुधारहरूले लगानीको वातावरण सहज बनाएको छ । यसले समग्र आर्थिक गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ ।   नेपालको बाह्य क्षेत्र सफल हुँदै गएको छ । विगत दुई वर्षदेखि घट्दै  गएको वस्तु  निर्यात र आयात चालु आर्थिक वर्षको कार्तिकदेखि बढ्न थालेको छ । हाम्रो वित्तीय पहुँच सुधार भएको छ । चालू आर्थिक वर्षबाट सबै स्थानीय तहमा बैङ्कको शाखा कार्यालय पुगेका छन्, राष्ट्र बैङ्कले आवश्यक विभिन्न क्षेत्रमा सहुलियतपूर्ण नीति अवलम्बन गर्दै आएको छ ।’

साथै उनले  पछिल्लो  समय विश्व अर्थतन्त्रमा विभिन्न नयाँ आयामहरू देखा परिरहेको बताइन् । उनले लामो समयदेखि युरोप तथा मध्यपूर्वमा जारी भूराजनीतिक तनाव एवम् पछिल्लो समयमा वैदेशिक व्यापार नीतिमा आएको परिवर्तन विश्व अर्थतन्त्रमा थप अनिश्चितता बढेको बताइन् ।

उनले  भनिन्, ‘पछिल्लो  समय विश्व अर्थतन्त्रमा विभिन्न नयाँ आयामहरू देखा परेका छन् । खास गरी विगत लामो समयदेखि युरोप तथा मध्यपूर्वमा जारी भूराजनीतिक तनाव एवम् पछिल्लो समयमा वैदेशिक व्यापार नीतिमा आएको  परिवर्तन विश्व अर्थतन्त्रमा थप अनिश्चितता बढेको छ ।’

साथै उनले नेपालको बाह्य क्षेत्र सबल बन्दै गएको भए पनि निजी क्षेत्रतर्फ कर्जा प्रवाह नहुनु र पुँजीगत खर्च नहुनु जस्ता चुनौती रहेको बताइन् ।

यसै गरी नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सस्तो लोकप्रियता र क्षणिक फाइदालाई हेरेर वित्तीय नीति लिने कार्य बन्द गर्नुपर्ने बताए । उनले अर्थतन्त्रको सवालमा राज्य नियामक सबै संवेदनशील हुन आवश्यक रहेको बताए ।

उनले भने, ‘पुँजीगत खर्चको लागि भन्दा छुटाएको बजेट भन्दा वित्तीय खर्चमा छुटाइएको बजेट धेरै छ । सस्तो लोकप्रियता र छोटो फाइदालाई मात्र हेरेर अगाडि बढ्दा हामी समस्यामा परेका छौँ, अर्थतन्त्रको सवालमा राज्य नियामक सबै संवेदनशील हुन आवश्यक छ । वित्तीय क्षेत्र सुधार, साक्षरतामा काम गर्दै गएमा वित्तीय अपराध हुने स्थिति हामी कम गर्न सक्छौँ ।’

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार