बानेश्वर-माइतीघर खाली गर्न चारदिने अल्टिमेटम

सोमबार, १५ बैशाख २०८२

काठमाडौँ : नेपाल शिक्षक महासंघले गत चैत २० गतेयता माइतीघर–बबरमहल–नयाँ बानेश्वर क्षेत्रमा निरन्तर रूपमा गरिरहेको  आन्दोलनबाट उक्त क्षेत्र हुँदै ओहोरदोहोर गर्ने सवारीसाधन प्रभावित हुँदा यातायात व्यवसायी र यातायात मदजुरहरूको रोजीरोटी ठप्प भएको भन्दै चार दिन (आगामी बिहीबार) भित्र उक्त रुट खाली नभए आफूहरू पनि सशक्त आन्दोलनमा उत्रने चेतावनी यातायात व्यवासायीहरूले दिएका छन्।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालका अनुसार यातायात व्यवासायीहरूले गत शुक्रबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीसँग सम्पर्क गरी तत्काल माइतीघर–बबरमहल–नयाँ बानेश्वर रुट खुला गर्न माग राखेका थिए। उनले  चार दिनभित्र (सोमबारदेखि बिहीबारसम्म) उक्त रुट खाली नगरे आफूहरूले सवारीसाधन ग्यारेजमा थन्काउने चेतावनी दिएका हुन्।

‘उक्त रुटमा दैनिक चार हजार गाडी गुड्छन्। यो रुट बन्द हुँदा एउटा सवारीसाधनलाई एक दिनमा कम्तीमा १५ सय रूपैयाँ घाटा लागेको छ,’ उनले भने, ‘यसअघि त्यस रुटमा गुड्ने एउटा सवारीसाधनले दैनिक तीन हजार आम्दानी गथ्र्यो। अहिले १२ सयदेखि १५ सय रूपैयाँसम्म मात्र आम्दानी हुन्छ। यस हिसाबबाट उक्त रुट बन्द हुँदा यातायात व्यवसायीहरूलाई कम्तीमा एक अर्ब ५६ करोड घाटा भएको छ। यसबाहेक अन्य विभिन्न क्षेत्रमा करोडौं घाटा भएको छ।’

उनका अनुसार उक्त रुटमा यातायात बन्द हुँदा करिब १२ हजार यातायात मजदुरहरूको रोजीरोटी नै ठप्प भएको छ। नेपालका अनुसार उक्त क्षेत्र ठप्प हुँदा उक्त रुटमा मात्र नभई उपत्यकाभरि नै यातायात प्रभावित मात्र भएको छ। यसैगरी यात्रुहरूले ठुलो सास्ती भोगेका छन्।

‘हामीले काठमाडौंका प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गरी भन्यौं– माइतीघरदेखि नयाँ बानेश्वरसम्मको रुट बन्द हुँदा हामीलाई ठुलो नोक्सानी भएको छ। यातायात मजदुरहरूको रोजीरोटी नै ठप्प भएको छ। तत्काल उक्त रुट खुलाउनुहोस्। नभए हामी पनि हाम्रा मागहरू अघि सार्छौं र विभिन्न चरणमा आन्दोलनका कार्यक्रम सुरु गर्छौंं,’ नेपालले भने, ‘हामीसँगको कुराकानीमा काठमाडौंका प्रजिअले यो विषयलाई आफूहरूले गम्भीर रूपमा लिएको देखिएको छ। अब केही दिनमै निकास निस्कन्छ भन्ने आशा छ।’

उनका अनुसार चार दिनसम्म उक्त रुट नखु्ले यातायात व्यावसायीहरू ‘यातायाता व्यवसायी ऐन तत्काल ल्याऊ’ भन्ने माग राख्दै आन्दोलनमा उत्रनेछन्। भौतिक पूर्वाधार तथा यातायता मन्त्रालयले यातायाता व्यवसायी ऐन ल्याउन ऐनको मस्यौदासमेत तयार गरेको छ। तर उक्त ऐन संसद्मा लगिएको छैन।

शिक्षक आन्दोलन १७औं दिन पुगेका बेला उक्त महासंघले जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको थियो। ज्ञापनपत्रमा उक्त रुटमा अविलम्ब यातायात सञ्चालन गर्ने वातावरण बनाउन माग गरिएको छ।

ज्ञापनपत्रमा शिक्षकहरूको आन्दोलनबाट माइतीघर–बबरमहल–बानेश्वर क्षेत्रमा निरन्तर सडक अवरोधबाट मजदुरलगायतलाई मर्का पर्नुका साथै व्यवसायीको बैंक किस्ता, कर, बिमा तिर्ने रकम गुम्दा आर्थिक हानिनोक्सानी भएको ज्ञापनपत्रमा उल्लेख छ। राजधानीका मुख्य सडक नै आन्दोलनको रणमैदान हुँदा त्यसको प्रत्यक्ष असर यातायात क्षेत्रमा पनि परेको बताइएको छ।

राजधानीको केन्द्रबिन्दुमा हुने यस्ता गतिविधिले देशविदेशमा नकारात्मक सन्देश गएको भन्दै बाटो प्रयोगकर्ता आम नागरिक सर्वसाधारण र सिंगो यातायात तथा अन्य व्यवसायमा पर्न गएको असहज परिस्थिति सिर्जना भएको ज्ञापनपत्रमा उल्लेख छ। यातायात क्षेत्रका व्यवसायी, मजदुर, कर्मचारी तथा आम उपभोक्ताको आक्रोशलाई मध्यनजर गरी यातायात सञ्चालनमा सहजीकरण गर्न ज्ञापनपत्रमा गृहलाई आग्रह गरिएको थियो।

आजको नागरिक दैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार