काठमाडौँ : वैशाख दोस्रो साताभित्र विद्यार्थी भर्ना सकेर कक्षा सञ्चालन गर्नुपर्ने भए पनि २८ दिनदेखि जारी शिक्षक आन्दोलन लम्बिँदै जाँदा सामुदायिक विद्यालयका बालबालिकाको पठनपाठन अनिश्चित बनेको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित संघीय सरकारले यस वर्ष घोषणा गरेको विद्यार्थी भर्ना अभियान शिक्षक आन्दोलनका कारण प्रभावित बनेको हो ।
सामुदायिक र निजीमा गरी विद्यालय तहमा ७० लाख विद्यार्थी अध्ययनरत रहेको तथ्यांक छ । निजी विद्यालयले निर्बाध रूपमा भर्नासँगै कक्षा सञ्चालन थालेका छन् भने ५५ लाख बालबालिका पढ्ने सामुदायिक विद्यालयमा अझै अन्योल छ ।
कतिपय विद्यालयमा शिक्षक, व्यवस्थापन समिति, स्थानीय तहले भर्ना अभियान र निःशुल्क पाठ्यपुस्तक वितरण गरे पनि आन्दोलनका लागि शिक्षक काठमाडौंकेन्द्रित हुँदा पढाइ भने अनिश्चित छ । ललितपुर र पोखरा महानगरपालिकासहित केही स्थानीय तहले भने कक्षा सञ्चालन गर्न निर्देशन दिएका छन् ।
विद्यालय शिक्षा ऐन जारी नभएसम्म शैक्षिक हडताल गर्ने घोषणा गरेका शिक्षकको छाता संस्था शिक्षक महासंघले भने स्थानीय तहको निर्देशन अस्वीकार गर्दै आन्दोलनमा सहभागी हुन अपिल गर्दै आएको छ ।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी आन्दोलनमा रहेका शिक्षकलाई माग पूरा नहुँदै विद्यालय आउनू भनेर स्थानीय तहले धम्की दिएको आरोप लगाउँछन् । ‘शिक्षा ऐन जारी भएपछि मात्र शिक्षक विद्यालय फर्कने छौं, आन्दोलनका कारण भएको शैक्षिक क्षति बिदाको दिनमा समेत कक्षा सञ्चालन गरेर पूरा गर्नेछौं,’ उनी भन्छन् ।
शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले वार्ताबाट समस्या समाधान गरी शिक्षकलाई विद्यालय फर्काउने प्रयास भइरहेको जनाए । बालबालिकाको पढ्न पाउने अधिकारमा जिम्मेवार हुँदै शिक्षक कक्षाकोठामा फर्कनुपर्ने उनको भनाइ छ । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार प्रारम्भिक बालविकास हुँदै कक्षा १ मा भर्ना हुने बालबालिका ७६ प्रतिशत छन् । आधारभूत तह ९कक्षा ८ सम्म० मा ९४ प्रतिशत विद्यार्थी मात्र भर्ना हुन्छन् र माध्यमिक तह ९कक्षा ९ देखि १२ सम्म० को भर्नादर भने ५६ प्रतिशत छ ।
रूपन्देहीको रोहिणी गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई वैशाख १४ देखि नतिजा प्रकाशन, विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण नगरे कारबाही गर्ने चेतावनी दिएपछि आन्तरिक रूपमा नतिजा प्रकाशन र भर्ना अभियान सुरु भएको छ । पालिका अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा लामो समयको आन्दोलनले गर्दा विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक भविष्यमा प्रत्यक्ष प्रतिकूल प्रभाव परिरहेकाले वैशाख १४ देखि नतिजा प्रकाशन, भर्ना र पुस्तक वितरण नगरी निर्देशन अवज्ञा गर्ने शिक्षक, कर्मचारीलाई क्षेत्राधिकारभित्र रही कारबाही प्रक्रिया अगाडि बढाइने उल्लेख छ ।
पालिकाको चेतावनीका साथै विद्यार्थी निजी विद्यालयमा जाने जोखिम रहेकाले सामुदायिक विद्यालयले नतिजा प्रकाशन र आन्तरिक रूपमा भर्ना अभियान सुरु गरेका छन् । पालिकाका केही विद्यालयका प्रधानाध्यापकसहितको टोली घरदैलो अभियानमा जुटेका छन् ।
रोहिणी–४ स्थित भविष्य उज्जवल आधारभूत विद्यालयका प्रअ वीरेन्द्र पासवान आन्दोलनमा सहकर्मी शिक्षक सहभागी भएको र पालिकाको निर्देशन अटेर गर्न नसकेर नतिजा प्रकाशन गरी घरदैलोमार्फत भर्ना थालिएको बताउँछन् । ‘हामीले रोक्न नखोजे अलिअलि भएका विद्यार्थी पनि अन्यत्र जाने डर भयो,’ उनले भने, ‘यसैबीच पालिकाकै निर्देशन आएपछि काम सुरु गर्यौं ।’
त्यस्तै, वडा ६ मा रहेको पशुपति माविमा पनि भर्ना सुरु भएको छ । प्रअ शिवकुमार भरले अभिभावकले चर्को दबाब दिएपछि आफूहरूले घरदैलो थालेको बताए । पालिकाभित्रका १५ वटा सामुदायिक विद्यालयमा हाल नतिजा प्रकाशन गर्ने, आन्तरिक रूपमा घरदैलो गर्दै विद्यार्थी भर्ना गर्ने काम भइरहेको छ ।
शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान प्रभावित भएपछि दैलेखको दुल्लु नगरपालिकाले घरबाटै विद्यार्थीको भर्ना थालेको छ । नगरपालिकाले आफ्नो वेबसाइटबाटै विद्यार्थी भर्ना थालेको हो । ‘अधिकांश सामुदायिक विद्यालयका अधिकांश शिक्षक तथा कर्मचारी आन्दोलनमा हुनुहुन्छ, जसका कारण विद्यार्थी भर्ना अभियानको अवधि सकियो,’ नगर प्रमुख भरतप्रसाद रिजाल भन्छन्, ‘मंगलबारदेखि नगरपालिकाको वेबसाइटबाटै विद्यार्थीको भर्ना गर्न सकिने व्यवस्था मिलाएका छौं, विद्यार्थी भर्नाको काम सकिएपछि शिक्षक–कर्मचारीलाई जसरी पनि विद्यालयमा उपस्थित हुने वातावरण मिलाउँछौं ।’
विद्यार्थी निजी विद्यालयमा जान थालेपछि डोटीको दिपायल सिलगढी नगरपालिकास्थित दिल्पेश्वर माविले व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघको साझेदारीमा विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण थालेको छ । शिक्षक काठमाडौंमा अन्दोलनरत रहेकाले अभिभावकको रायअनुसार आफूहरूले नै नयाँ पाठ्यपुस्तक वितरण र भर्ना सुरु गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष रोशन कठायत बताउँछन् ।
कैलालीको टीकापुर नगरपालिकाका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना सुरु भएको छ । नगरपालिकाभित्रका विद्यालयमा ४५० शिक्षक कार्यरत छन् । तीमध्ये अन्दोलनमा सहभागी हुन काठमाडौं गएका सबैजसो शिक्षक फर्किसकेर भर्ना अभियान सुरु भएको टीकपुरका नगर प्रमुख रामलाल डगौरा थारू बताउँछन् ।
कैलालीकै गौरीगंगा नगरपालिकामा भने विद्यार्थी भर्ना सुरु हुन सकेको छैन । दैनिक तीन–चार सय जना शिक्षक नगरपालिकामा आएर हाजिर गरिरहेको र उनीहरू आलोपालो गर्दै आन्दोलनमा आउजाउ गरिरहेको नगर प्रमुख देवीदत्त कँडेलको भनाइ छ । घोडाघोडी नगरपालिकामा भने विद्यालय कर्मचारीले ढोका खोले पनि शिक्षक काठमाडौंमै भएकाले विद्यार्थी नै नआउने गरेको नगर प्रमुख खडकबहादुर रावत बताउँछन् ।
डेढ साताअघि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका पर्साका स्थानीय तहले अझै काम सुरु गर्न सकेका छैनन् । केही पालिकाले आंशिक रूपमा विद्यार्थी भर्ना थाले पनि अधिकांशले सञ्चालन गर्न सकेका छैनन् । ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले आइतबारदेखि भर्ना अभियान चलाइएको बताए । ‘पालिकाकै जनशक्ति परिचालन गरेर अभियान चलाएपछि केही विद्यार्थी भर्नासमेत भएका छन्,’ उनी भन्छन् ।
जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले आफ्नो पालिकामा अभियान सञ्चालन हुन नसकेको बताए । ‘अभियान चलाउने प्रयास मैले गरेको हो,’ उनी भन्छन्, ‘तर विद्यालयमा शिक्षक नै नभएपछि अभियान चलाउन सकिएन ।’
स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी आन्दोलन सकिनेबित्तिकै कक्षा सुचारु हुने गरी तयारी गर्न निर्देशन दिइएको बताउँछन् । ‘केही शिक्षक आन्दोलनमा जानुभएको छ, केही गाउँमै हुनुहुन्छ, उहाँहरूले भर्ना र किताब वितरण गर्नुभएको छ, आन्दोलन टुंगिएसँगै कक्षा सुचारु गर्न मिल्छ,’ उनी भन्छन् ।
मंगलबार स्याङ्जाका प्रमुख जिल्ला अधिकारीसँग भेट गर्दै विद्यार्थीले विद्यालय जाने मिति सोधेका छन् । ‘हामी कहिलेबाट विद्यालय जान पाउँछौं ?’ भनेर प्रजिअ ईश्वरीप्रसाद अर्यालसँग विद्यार्थीले प्रश्न गरेका हुन् । सामाजिक विकास कार्यालय स्याङ्जाले आयोजना गरेको ‘प्रजिअसँग बालबालिका कार्यक्रम’ मा सहभागी विद्यार्थीले विद्यालयमा पढाइ सुरु गर्न माग राखेका थिए ।
झापा मेचीनगरका केही विद्यालयका शिक्षकले नै टोल शिविरमार्फत विद्यार्थीलाई निजी विद्यालय जानबाट रोकिरहेका छन् भने केहीले पुस्तक वितरण गर्न थालेका छन् । ‘टोलटोल पुगेर अभिभावकलाई विद्यार्थी अन्त नपठाइदिन आग्रह गरिरहेका छौं, स्कुल नखुलुन्जेल घरै बसेर पढुन् भनेर पुस्तक वितरण गरेका छौं,’ एक शिक्षकले भने ।
विराटनगर महानगरपालिकाले वैशाख ५ मा सूचना प्रकाशित गरेरै विद्यार्थी भर्ना अभियान सुरु गर्न आह्वान गरे पनि काम भएको छैन । महानगर प्रमुख नागेश कोइरालाले देशैभर भर्ना अभियान प्रभावित भएका बेला विराटनगरमा पनि सुरु गर्न नसकिएको बताए । मोरङको धनपालथान गाउँपालिकाकी उपाध्यक्ष नसिमा बानो भने आन्दोलनले विद्यार्थी भर्ना प्रभावित नभएको दाबी गर्छिन् ।
‘केही शिक्षक आन्दोलनमा हुनुहुन्छ, केही यतै हुनुहुन्छ,’ उनले भनिन्, ‘यता भएका शिक्षकले भर्ना अभियानलाई तीव्रता दिइरहनुभएको छ ।’ झापाकै भद्रपुर नगरपालिकाले शिक्षक आन्दोलनले भर्ना, परीक्षा र शैक्षिक सत्र प्रभावित भई विद्यार्थी, शिक्षक र अभिभावकमा अन्योल उत्पन्न भइरहेको भन्दै आन्दोलनरत शिक्षकलाई विद्यालय फर्केर भर्ना अभियान तत्काल सुरु गर्न आग्रह गरेको छ ।
रौतहटको ईशनाथ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले विद्यालय खुलाउनेबारे जनप्रतिनिधि र शिक्षा संयोजकसित छलफल भइरहेको बताए । चन्द्रपुर नगरपालिका प्रमुख सञ्जय काफ्लेले वैशाख १५ सम्म भर्ना गरिसक्नुपर्ने शैक्षिक क्यालेन्डर प्रभावित भएकाले शिक्षा समितिको बैठकबाट निर्णय लिइने बताए । गौर नगरपालिका प्रमुख शम्भु साह शिक्षकको लामो आन्दोलनले विद्यालय सञ्चालन हुन नपाउँदा विद्यार्थीसँगै अभिभावक पनि निराश बनेको बताउँछन् ।
धनकुटाको महालक्ष्मी नगरपालिकाभित्रका १५ वटा विद्यालयका व्यवस्थापन समिति पदाधिकारीले सोमबार संयुक्त विज्ञप्तिमार्फत आन्दोलनमा एकरएक जना मात्र सहभागी भएर अन्यले नियमित विद्यालय सञ्चालन गर्न शिक्षकसँग आग्रह गरेका छन् । आन्दोलनप्रति अभिभावकको ऐक्यबद्धता रहेको भन्दै तत्काल निकास नदेखिएकाले पठनपाठन सञ्चालन गर्नुपर्ने र हरेक विद्यालयबाट एक जना मात्र शिक्षक आन्दोलनमा जानुपर्ने विज्ञप्तिमा उल्लेख छ । महालक्ष्मी–७ स्थित जनता मावि व्यवस्थापन समिति अध्यक्ष मणिराज लुंगेलीले लामो समयदेखि पठनपाठन ठप्प रहेकाले आफूहरू चिन्तित बनेको बताए ।
आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया