विराटनगर । जिल्ला कारागार मोरङका १ जना थुनुवाको आइतबार बिहान विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको छ ।
कारागारका जेलर गौरव ढुंगेलका अनुसार ठगी मुद्दाका थुनुवा रामेछापको दोरम्बा–सैलुङ गाउँपालिका–२ घर भएका ५४ वर्षीय प्रवीण तामाङको मृत्यु भएको हो । श्वासप्रश्वासमा अचानक समस्या देखिएपछि तामाङलाई उपचारका लागि शनिबार साँझ विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको थियो ।
ढुंगेलका अनुसार तामाङको उपचारकै क्रममा आइतबार बिहान ४ बजेतिर मृत्यु भएको हो । तामाङ अदालतको आदेशबाट २०८१ पुस १६ गते पुर्पक्षका लागि मोरङ कारागार चलान भएका थिए । आफूविरुद्धको ठगी मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा तामाङको मृत्यु भएको हो ।
सामान्य अवस्थामा अस्पताल भर्ना गरिएका तामाङको मृत्युको खबर आएको जेलर ढुंगेलले बताए । उनको शवलाई कोशी अस्पतालमै राखिएको छ । घटनाका बारेमा तामाङको परिवारलाई खबर भइसकेको र परिवारका सदस्य एवं आफन्त आइपुगेपछि थप प्रक्रिया अघि बढाउने ढुंगेलले बताए ।
मोरङ कारागारमै कैद भुक्तान गरिरहेका १ जनाको यही वैशाख १५ गते मृत्यु भएको थियो । मोरङको उर्लाबारी नगरपालिका–१ घर भएका कैदी ४३ वर्षीय मित्रकुमार दनुवारको वैशाख १५ गते मृत्यु भएको थियो । दनुवार जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएर अदालतबाट २५ वर्ष कैद सजाय सुनाइएका कैदी हुन् ।
लगातार बन्ता गर्न थालेपछि उनलाई उपचारका लागि चैत १३ गते कोशी अस्पताल भर्ना गरिएकोमा उपचारकै क्रममा चैत १५ गते मृत्यु भएको जेलर ढुंगेलले बताए । दनुवार २०७८ साल असार ७ गते कारागार चलान भएका थिए ।
मोरङ कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएको छ । महिला र पुरुष गरेर ३ सय जना क्षमताको कारागारमा आइतबार बिहानसम्ममा १ हजार ३८ जना कैदीबन्दी रहेका छन् । जसमध्ये नाबालक ३, महिला १ सय ७ र पुरुष ९ सय २८ रहेका हुन् ।
क्षमताभन्दा बढी कैदीबन्दी राख्नु परेका कारण कारागारको अवस्था भद्रगोल बनेको छ । कैदीबन्दीलाई खाने, बस्ने र सुत्ने ठाउँको समेत अभाव भइरहेको कारागार प्रशासनले जनाएको छ ।
प्रतिक्रिया