काठमाडौँ : “अब हामी केवल पढाउने शिक्षक होइन, समस्या समाधान गर्ने नेतृत्वदायी शिक्षक र व्यवस्थापक खोजिरहेका छौं,” काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको यो भनाइले महानगरको शिक्षा नीतिमा आएको परिवर्तनको संकेत दिन्छ।
एसईई परीक्षामा ५० प्रतिशतभन्दा धेरै विद्यार्थी ‘नट ग्रेडेड’ भएका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँगको गहन छलफलमा उपप्रमुख डंगोलले शिक्षक नेतृत्वको आवश्यकता स्पष्ट रूपमा औंल्याइन्।
“तीन वर्षदेखि अपेक्षित सुधार आउन सकेन भने अब सोचाइ र नेतृत्व बदल्न जरुरी छ,” डंगोलले भनिन्, “हामी समस्या समाधान गर्ने शिक्षक खोजिरहेका छौँ, जो बालमैत्री पनि होस्, व्यवस्थापक पनि।”
उनले आगामी एक महिना नट ग्रेडेड विद्यार्थीहरूलाई अतिरिक्त कक्षा सञ्चालन गरेर नतिजा सुधारको अभियानमा जुट्न आग्रह गरिन्। त्यसपछि मात्र थप योजना बनाइने बताइन्।
शिक्षा अधिकृत केशव ज्ञवालीले केवल शिक्षकको कमजोरी मात्र नभई विद्यार्थी–शिक्षक सम्बन्ध, पारिवारिक तनाव, श्रममा लागेका विद्यार्थी, अभिभावकको उदासीनता जस्ता कारणले पनि नतिजा कमजोर भएको बताए।
प्रतिक्रिया