विराटनगर। अपहरण गरेर रकम लुटपाट गरेको आरोपमा वाईसीएल (योङ कम्युनिष्ट लिग) विराटनगरका नेता कुशल पाण्डे पक्राउ परेका छन्। नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन वाईसीएलमा आवद्ध पाण्डेलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार असार ११ गते विराटनगर–१५ का २० वर्षीय विक्रमकुमार साह तेलीलाई अपहरण गरी उनीसँग भएको ३ लाख ६४ हजार रुपैयाँ लुटिएको थियो। उक्त रकम उनका भिनाजु धर्मानन्द साहले दिएकामा विक्रम त्यस दिन बैंकमा जम्मा गर्न जाँदै थिए।
घटनाका मुख्य योजनाकार वाईसीएलका नेता कुशल पाण्डे रहेको प्रहरीको भनाइ छ। उनका साथमा अपहरणमा संलग्न विराटनगर–८ का २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का २६ वर्षीय आशिव अन्सारीलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ। घटनापछि फरार रहेका पाण्डेलाई पछिल्लो अनुसन्धानपछि पक्राउ गरिएको हो।
पीडित विक्रमलाई मोटरसाइकल र स्कुटरमा आएका तीन जनाको समूहले बिहान करिब ११ः१५ बजेतिर विराटनगर–१३ को महतो टोलबाट अपहरण गरेका थिए। ‘हामी प्रहरी हौं, अनुसन्धानका लागि लैजाँदैछौं’ भन्दै १४ प ३३३० नम्बरको स्कुटरमा राखेर उनलाई आँखा अस्पताल हुँदै विराटनगर–१४ जतुवा लगेर लुटपाट गरी छाडिएको थियो।
प्रहरी स्रोतका अनुसार घटनाको योजना कुशल पाण्डेले बनाएका थिए भने सहयोगीको रूपमा अन्य दुई जना प्रयोग भएका थिए। लुटपाटका क्रममा विक्रमलाई हल्ला गरेमा ज्यान मार्ने धम्कीसमेत दिइएको बताइएको छ। कुशल पाण्डे वाईसीएल विराटनगरका पूर्वसदस्य हुन् । तर, पाण्डेले भने आफू वाईसीएल विराटनगरको अध्यक्ष भएको दाबी प्रहरीसमक्ष गरिरहेका छन् ।
घटनामा प्रयोग भएको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार अपहरण र डकैती गम्भीर अपराध भएकाले यसमा बहुआयामिक अनुसन्धान भइरहेको छ। पाण्डेविरुद्ध शरीर बन्धक बनाएर डाँका गरेको कसुरमा मुद्दा दर्ता गर्ने तयारी गरिएको छ भने बिहीबार उनलाई म्याद थप गरेर थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।
यसअघिको समाचारमा वाईसीएलका नेता हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । - सम्पादक
प्रतिक्रिया