एकपछि अर्को नेपाली विद्यार्थीको मृत्यु भएपछि केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न सांसदहरुको माग

आइतबार, २१ बैशाख २०८२

काठमाडौं- राष्ट्रियसभाका सदस्यहरुले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी(केआइआइटी) मा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने भएको छ । साथै उहाँहरु त्यहाँ जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर (एनओसी)’  दिन नहुनेमा जोड दिएका छन् । 

राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा उहाँहरुले केआइआइटीमा विद्यार्थी असुरक्षित भएका, एकपछि अर्को छात्राको शृङ्खलाबद्ध मृत्युले विद्यार्थीको सुरक्षाको प्रत्याभूति नभएको भन्दै एनओसी रोक्न सरकारको ध्यानाकर्षण गराए । 

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सरकारले उक्त कलेजका लागि एनओसी दिने प्रक्रिया रोक्नुपर्ने बताए । 

नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का सांसद मदनकुमारी साहले  केआइआइटीका लागि एनओसी रोक्न माग गर्दै  अभिभावकलाई पनि सचेत हुन आग्रह गरिन् ।    

आकस्मिक समयमा जनता समाजवादी पार्टी नेपालका मोहम्मद खालिद, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शेखरकुमार सिंह र नेपाली कांग्रेसका कृष्णबहादुर रोकायले केआइआइटीमा नेपाली विद्यार्थीको मृत्युबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारले  निरन्तर पहल गर्नुपर्ने माग गरे । 
    
घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गर्नेहरुमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का गंगाकुमारी बेल्वासे र नेपाल कम्युनिष्ट पार्टी(एमाले)का सुमित्रा विसी थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार