इटहरी : शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील नेपाल शैक्षिक परामर्श संघ (इक्यान) पूर्वाञ्चलले आफ्ना सदस्यहरूलाई लक्षित गर्दै कर योजना तथा वित्तीय व्यवस्थापनसम्बन्धी एक दिवसीय सेमिनार सम्पन्न गरेको छ। कार्यक्रम इटहरीस्थित पाथिभरा होटलमा आयोजित गरिएको थियो ।
सेमिनारको उद्देश्य सदस्य संस्थाहरूलाई कर योजना र वित्तीय व्यवस्थापनका विषयमा व्यवहारिक जानकारी प्रदान गर्नु रहेको आयोजकले बताएका छन् । कार्यक्रममा इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले कर योजना तथा वित्तीय व्यवस्थापनसम्बन्धी विषयमा केन्द्रित सहजिकरण गर्दै शैक्षिक परामर्श क्षेत्रलाई राज्यको नीति तथा कानुनको दायराभित्र रहेर अझ व्यवस्थित बनाउनु पर्नेमा जोड दिए ।
त्यस्तै, इक्यान केन्द्रका कोषाध्यक्ष आशिक कार्कीले नेपालको कर प्रणाली, त्यससम्बन्धी नियम, प्रक्रिया तथा व्यावहारिक पक्षहरूबारे जानकारी गराउँदै सहभागीहरूको जिज्ञासाको समाधान गरेका थिए ।
कार्यक्रममा इक्यानका केन्द्रीय महासचिव दीपकराज भुसालले संघले सधैं आफ्ना सदस्यहरूको हितमा काम गर्दै आएको उल्लेख गर्दै यस्ता तालिम तथा सेमिनारले संस्थाहरूलाई थप सुदृढ बनाउने बताए ।
इक्यान पूर्वाञ्चलका अध्यक्ष तथा कार्यक्रमका सभापति रविन्द्र निरौलाले हाल दर्ता विना सञ्चालनमा रहेका परामर्श संस्थाहरूले अनियमित रूपमा बढी शुल्क असुल्ने गरेको गुनासो आइरहेको भन्दै त्यसलाई नियमन गर्न केन्द्रसँग समन्वय आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा इक्यानका सल्लाहकार कमल तिम्सिनालगायतका वक्ताहरूले समेत शैक्षिक परामर्श व्यवसायलाई पारदर्शी, जिम्मेवार र कानुनी ढाँचामा अगाडि बढाउनुपर्नेमा जोड दिए ।
सो अवसरमा इक्यान पूर्वाञ्चलमा गत एक वर्षको अवधिमा नवदर्ता भएका १४ नयाँ सदस्य संस्थालाई सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा इक्यान पूर्वाञ्चलका सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको आयोजकले जनाएका छन् ।
प्रतिक्रिया