पाँचथरमा मोबाइल प्रयोग गरी कक्षा १२ को प्रश्नपत्र आउट गर्ने विद्यार्थी पक्राउ

सोमबार, २२ बैशाख २०८२

पाँचथर : कक्षा १२ को परीक्षामा मोबाइल प्रयोग गरी प्रश्न पत्र बाहिर पठाएको आरोपमा पाँचथर जिल्लाको याङवरक गाउँपालिका–४ स्थित थर्पु मावि परीक्षा केन्द्रबाट एक जना विद्यार्थी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोही केन्द्रमा परीक्षा दिइरहेका गणेश माविका छात्र निशेक काम्वाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार आइतबार अङ्ग्रेजी विषयको परीक्षा सुरु भए लगत्तै काम्वाङले मोबाइल फोनको प्रयोग गरी प्रश्न पत्रको फोटो खिचेर बाहिर पठाएका थिए।

केन्द्राध्यक्षसहित परीक्षा सञ्चालनमा खटिएका शिक्षक तथा कर्मचारीहरूले उक्त घटनाबारे जानकारी दिएपछि प्रहरीले तुरुन्तै काम्वाङलाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानमा उनले प्रयोग गरेको मोबाइल फोन समेत बरामद गरिएको प्रहरीको भनाइ छ।

यस घटनाले परीक्षाको गोपनीयता र निष्पक्षतामा गम्भीर प्रश्न उठाएको छ। यता शिक्षा अधिकारीहरूले घटनाबारे थप छानबिन गरी आवश्यक कारबाही गरिने बताएका छन्।

 

WhatsApp Image 2025-05-05 at 06.35.04_af4e95f3

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार