अप्रिलमा मात्रै १ लाख १६ हजार बढी पर्यटकले गरे नेपाल भ्रमण

सोमबार, २२ बैशाख २०८२

काठमाडौँ । गत अप्रिल २०२५ मा १ लाख १६ हजार ४९० अन्तर्राष्ट्रिय पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

नेपालको पर्यटन इतिहासमा सबैभन्दा राम्रो अप्रिल महिना भएको नेपाल  पर्यटन बोर्डले जनाएको छ। जुन कोभिड महामारी पछि अप्रिलमा आएका पर्यटनको सङ्ख्या १०६।५ प्रतिशत बढी भएको बोर्डको दाबी छ ।

‘पूर्व महामारी स्तरमा पुगेका छौँ, बलियो रिकभरी र नेपालमा बढ्दो विश्वव्यापी चासो बढेको देखिएको छ,’ बोर्डका सिइयो दीपकराज जोशीले भने, ‘पर्यटनमा यो खालको उल्लेख्य वृद्धि नेपालको स्थायी आकर्षण र पर्यटन सम्भाव्यताको प्रमाण हो।’

बोर्डका अनुसार सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट नेपाल भ्रमण भएको छ भने दोस्रो स्थानमा अमेरिका रहेको छ । जसअनुसार अप्रिल महिनामा दक्षिण छिमेकी मुलुक भारतबाट मात्रै २५ हजार ९३३, अमेरिकाबाट १० हजार ५३ जनाले भ्रमण गरेका छन् ।

साथै, उत्तरी छिमेकी मुलुकबाट ९ हजार ३७ पर्यटक नेपाल आएका छन् भने  बेलायत र बंगालादेशबाट क्रमशः ६ हजार ७ सय ३८ र ५ हजार ३ सय ९८ जनाले नेपाल भ्रमण गरेका छन् ।

पर्यटन बोर्डका अनुसार गत जनवरी देखी अप्रिलसम्म ४ लाख १५ हजार ४८ जना विभिन्न देशका पर्यटक नेपाल भित्रिएका छन् ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार