नीति तथा कार्यक्रमलाई कर्मकाण्डी बनाइयो : प्रचण्ड

सोमबार, २२ बैशाख २०८२

काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई केवल औपचारिकता र कर्मकाण्डमा सीमित बनाएको आरोप लगाएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा धारणा राख्दै उनले यसपटक सरकारको तयारी प्रक्रिया गम्भीर छलफल र सुझाव संकलनको लोकतान्त्रिक अभ्यासविनै अघि बढाइएको बताए।

उनले भने, "गत वर्ष मैले संसदका सांसदहरूको सुझावलाई ध्यानमा राख्दै नीति तथा कार्यक्रम तयार गर्ने प्रक्रिया सुधार गर्ने प्रयास गरेको थिएँ। त्यसैले बजेटभन्दा तीन महिना अघिनै नीति तथा कार्यक्रम ल्याएर सुझाव समेट्ने नयाँ क्यालेन्डर जारी गरिएको थियो। तर यस वर्ष सरकारले त्यो अभ्यासलाई तोडेर फेरि पुरानै कर्मकाण्डीय बाटो रोज्यो।"

प्रचण्डले नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रियामा जनप्रतिनिधिको सुझाव समेट्ने अवसर उपलब्ध गराउने सोचलाई बेवास्ता गरिएको आरोप लगाए। "यदि त्यसरी सुझाव समेटिएको भए सरकारको दुई तिहाइ बहुमतको दम्भ कायम राख्न कठिन हुने थियो," उनले भने, "त्यही कारण सरकारले गत वर्षको सुधारात्मक अभ्यास खारेज गर्‍यो र आफ्नो सत्तामुखी चरित्र देखायो।"

उनले वर्तमान सरकारसँग संख्याको दम्भ रहेको भन्दै, संसदमा हुने छलफललाई अर्थहीन औपचारिकता बनाइएको टिप्पणी गरे। "सरकारको सोच छ — संख्या छ भने जे गरे पनि हुन्छ। यस्तो निरंकुश सोचका कारण संसदमा नीति तथा कार्यक्रम र बजेटमाथिको छलफल फेरि कर्मकाण्ड मात्र बनाइएको छ," उनले निष्कर्ष निकाले, "म यो प्रवृत्तिको सुधारको माग गर्छु।"

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार