स्थानीय श्रोत साधनको प्रयोग गरेर घर बनाऔँः उपप्रधानमन्त्री सिंह

सोमबार, २२ बैशाख २०८२

काठमाडौँ : उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले आयआर्जन गर्नसक्ने किसिमको बस्ती विकास गर्न जरुरी रहेको बताएका छन् ।

सोमवार काठमाडौंमा राष्ट्रिय आवास कम्पनी लिमिटेडको १७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले व्यवस्थित आवास बनाउँदा बनाउनको लागि मात्रै बनाउने नभइ आयआर्जन गर्नसक्ने किसिमको हुनुपर्ने बताए।

उनले आवासमा बस्नका लागि मात्रै अब मानिसहरू नजाने उल्लेख गरे। उपप्रधानमन्त्री सिंहले जग्गा विकासमा नेपालीहरूलाई न्यूनतम रुपमा आवश्यक पर्ने जीवनउपयोगी, आयआर्जन गर्नसक्ने किसिमको बस्ती विकास अहिलेको आवश्यकता भएको बताए।

आफू बसेको ठाउँबाट केही आय आर्जन गरेर आफ्नो परिवारलाई पाल्नसक्ने वातावरण तयार भएको खण्डमा नै व्यवस्थित बस्ती विकास हुने उनले जिकिर गरे ।

सिमेन्ट, रडको प्रयोग नगरी स्थानीय श्रोत साधनको प्रयोगबाट वातावरणमैत्री भवनहरू निर्माण गर्दा फाइदा हुने उनको भनाइ छ ।

उपप्रधानमन्त्री सिंहले भने, ‘हामीले व्यवस्थित आवास बनाउँदा कस्तो हुनुपर्यो भन्दा बनाउनका लागि मात्रै बनाएर आवासमा मान्छेहरू बस्न अहिलेको जमानामा बस्न जाँदैनन् । यो कुरा यसअघि नेपाल सरकारले बनाएका भवनहरूबाट पनि हामीले लेसन लर्न गर्नुपर्छ । हामीले जग्गा विकास पनि गर्नुछ, जग्गा विकासमा नेपालीहरुलाई न्युनतम रुपमा आवश्यक पर्ने जीवनउपयोगी, आयआर्जन गर्नसक्ने किसिमको बस्ती विकास हुनुपर्छ । खालि आवास बनाएर केही गर्नै नसक्ने गरी बनाएर त भएन नि।’

उपप्रधानमन्त्री सिंहले अब बस्ती विकास गर्दा समाजमा चाहिने न्यूनतम आधारहरू राखेर जग्गा विकास गर्न जरुरी रहेको बताए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार