इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलद्वारा सामाजिक सञ्जालमा पत्रकार र पत्रकारिताप्रति गरिएको टिप्पणी अहिले बहसको केन्द्रमा आएको छ। उक्त अभिव्यक्तिले लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रताको सम्मान विषयमा पुनः प्रश्न उठाएको छ।
मेयर पौडेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए,
“भोलि कुन विषयमा समाचार आउँछ अघिल्लो दिन हामीलाई थाहा हुन्छ, पहिले हाम्रो सचिवालयमा पठाउँछन्, केही झर्दैन दानापानी अनि लाजले प्रकाशन, प्रसारण गर्छन्, विचित्रको पत्रकारिता छ इटहरीमा।”
उनको यस अभिव्यक्तिलाई लिएर नेपाल पत्रकार महासंघ सुनसरी शाखाले गंभीर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको छ। महासंघका सचिव विनय बाह्रकोटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,
प्रेस स्वतन्त्रताको खिलाफमा मेयर हेमकर्ण पौडेलले दिएको अभिव्यक्तिको घोर भत्र्सना गर्दै महासंघ सुनसरी आरोप पुष्टि गर्न चेतावनी दिन चाहन्छ ।
महासंघले पौडेलको टिप्पणीलाई त्यस प्रकारका टिप्पणी जिम्मेवार व्यक्तिबाट अपेक्षित नहुने प्रतिक्रिया दिएको छ।
स्थानीय सरकारका जिम्मेवार पदाधिकारीबाट यस्ता टिप्पणी आउनुले पत्रकार र जनप्रतिनिधिबीचको सम्बन्धमा विश्वासको संकट पैदा गरिरहेको पत्रकारहरू बताउँछन्।
प्रेस चौतारी नेपाल कोशीका अध्यक्ष समेत रहेका पत्रकार सुमन पुरी लेख्छन्,
आलोचना सहन नसक्नु सत्ताको धर्म हो । सत्तामा भएका बखत आफ्नो धर्म निभाउनु गलत होइन तपाईँका लागि । समाचार लेख्नु , तथ्यका आधारमा सत्य देखाउनु ,सत्ता र सरकारमा बसेकाहरूले बाटो बिराउँदा खबरदारी गर्नु हाम्रो पनि काम हो । यहाँले भने जस्तै सचिवालयमा समाचार पठाएर बार्गेनिङ कसैले गरेको भए प्रमाण सहित भन्नुस् । नत्र सामाजिक सञ्जालमा सबै पत्रकारको तेजोवध गरेर पाउने फेरी पनि आलोचना नै हो । मेयर ज्यूलाई आलोचना सहन गर्ने शक्ति भगवानले प्रदान गरुन् ।
पत्रकार महासंघको ठम्याइमा, सूचना सम्प्रेषणको भूमिका निभाउने मिडियालाई हल्का टिप्पणीबाट कमजोर पार्न खोज्नु लोकतन्त्रकै मूल्यको उपहास हो।
सञ्चारमाध्यमले जनताको सवाल उठाउने, सार्वजनिक निकायमा जवाफदेहिता खोज्ने भूमिका निर्वाह गर्दा तिनलाई अनावश्यक रूपमा आरोपित गर्नु प्रशासनिक अहंकारको संकेत हो भन्ने आलोचना पनि चुलिएको छ।
प्रतिक्रिया