मोरङमा ट्याक्टर चालकको लाठ्ठी प्रहारबाट ट्रक चालकको मृत्यु

विहीबार, १९ असार २०८२

विराटनगर । मोरङको कटहरीमा ट्याक्टर चालकको आक्रमणमा परेका ट्रक चालकको मृत्यु भएको छ। सर्लाहीको धुर्कैली घर भएका ५६ वर्षीय गोर्खबहादुर दोङको बिहीबार दिउँसो उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा निधन भएको हो।

मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार बुधबार दिउँसो कटहरी गाउँपालिका–३ स्थित इको पावर सोलुसन प्रा.लि. नामक उद्योग परिसरभित्र भएको थियो। पुराना टायर प्रशोधन गर्दै आएको उक्त उद्योगमा दोङले चलाएको ना ५ ख ५६१६ नम्बरको ट्रक पुराना टायर बोकेर पुगेको थियो। त्यही बेला को १ त ५०३३ नम्बरको ट्याक्टर चलाइरहेका स्थानीय ३० वर्षीय दिपेश कामतसँग ट्रक पार्किङ गर्ने विषयमा विवाद भएको थियो।

विवाद चर्किएपछि ट्याक्टर चालक कामतले लाठ्ठीले ट्रक चालक दोङको टाउकोमा प्रहार गरेका थिए। गम्भीर घाइते दोङलाई उपचारका लागि तुरुन्तै विराटनगरको न्युरो अस्पताल पुर्‍याइएको थियो। चिकित्सकहरूले उनको टाउकाको शल्यक्रिया गरे पनि अवस्था गम्भीर नै रहँदा अन्ततः बिहीबार दिउँसो ३:४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

घटनापछि फरार रहेका ट्याक्टर चालक कामतलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। ट्रक ड्राइभर बेहोस भएपछि प्रहरीले पक्राऊ गर्ने डरले  भारततर्फ भाग्ने क्रममा इलाका प्रहरी कार्यालय रानी सिमाना इन्चार्ज प्रहरी नायब निरीक्षक सुवास अधिकारीले विराटनगर महानगरपालिका १६ बाट ट्याक्टर चालक कामतलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाएको प्रहरीले जनाएको छ ।  उनको विरुद्धमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाइएको  छ।

प्रहरीले घटनालाई गम्भीरता साथ लिएर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार