सुनसरीबाट १८० जना मुस्लिम धर्मावलम्बी हज यात्रामा जाने

शुक्रबार, ०२ जेठ २०८२
फाइल तस्बिर

इनरूवा : सुनसरी जिल्लाबाट इस्लाम धर्मावलम्बी १८० जना हज यात्रामा साउदी अरेबियाको मक्का मदिनातर्फ जाने भएका छन्। हज समितिको समन्वयमा तयारी पूरा भएसँगै यात्रुहरू यही जेठ ३ गते शनिबारदेखि प्रस्थान गर्न लागेका हुन्।

सुनसरी हज समितिका संयोजक मोजम्मील मियाँ अन्सारीका अनुसार हजयात्रुहरू पाँच चरणमा साउदी अरेबिया जानेछन्। पहिलो चरणमा आइतबार बिहान ११८ जना यात्रु, एक जना नेपाली दूतावासका प्रतिनिधि र हज समितिका एक सदस्य प्रतिनिधिसहित टोली काठमाडौँबाट साउदी अरेबिया प्रस्थान गर्नेछ। सोही दिन राति सुनसरीका थप ४ जना अन्य जिल्लाबाट जाने यात्रु समूहमा मिसिनेछन्। बाँकी यात्रीहरू विभिन्न मितिमा साउदी अरेबिया प्रस्थान गर्नेछन्।

गत वर्ष आवेदन दिएर जान नपाएका तथा चालु आर्थिक वर्षमा आवेदन दिएकामध्येबाट छनोट गरिएका १८० जना यात्रु यस वर्ष हजमा सहभागी हुन पाउने भएका हुन्। हज व्यवस्थापन समितिका अनुसार यात्रुहरूको स्वास्थ्य परीक्षण, भिसा, आवास र यातायातको सम्पूर्ण व्यवस्था पूरा भइसकेको छ।

यस पवित्र यात्राका लागि तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै संयोजक अन्सारीले सम्पूर्ण यात्रुहरूलाई सुरक्षित र व्यवस्थित रूपमा हज सम्पन्न हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार