इलाममा ४२ महिलामध्ये ९ जनामा पाठेघरको मुखको क्यान्सर पुष्टि

शुक्रबार, ०२ जेठ २०८२

इलाम : इलाम नगरपालिकाले आयोजना गरेको एकीकृत घुम्ती स्वास्थ्य शिविरमा परीक्षण गराइएका ४२ महिलामध्ये ९ जनामा पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) देखिएको छ।

स्थानीय वडामा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले नगरपालिकाले सञ्चालन गरेको शिविरमा यस्तो तथ्यांक आएको हो।

नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का अध्यक्ष नुतनदेव दुलालका अनुसार, गाउँमै आयोजित निःशुल्क शिविरमा महिलाहरूको क्यान्सर पुष्टि हुनु निकै चिन्ताजनक विषय हो।

क्यान्सर पुष्टि भएकाहरूलाई थप परीक्षण तथा उपचारका लागि स्वास्थ्य संस्थामा जान सल्लाह दिइएको छ।

शिविरमा महिला स्वास्थ्य परीक्षणसँगै बालबालिकाको मुटु परीक्षण, ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच, अपाङ्गता भएका व्यक्तिहरूलाई परिचयपत्र (नीलो, पहेंलो र रातो कार्ड) वितरण गरिएको थियो। साथै, कृषि सेवाअन्तर्गत माटो परीक्षण, जैविक औषधी वितरण, बालीसम्बन्धी परामर्श, पशु स्वास्थ्य परीक्षण, र सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी जानकारी समेत दिइएको थियो।

नगरपालिकाले गाउँमै सेवा पुर्‍याउँदै जनस्वास्थ्यप्रति सचेतना बढाउने कार्यलाई प्राथमिकता दिएको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार