विराटनगर : मोरङको उर्लाबारीमा ट्याङ्करको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत उर्लाबारी नगरपालिका–३ पुरानो मङ्गलबारेमा बिहीबार राति ११ः१५ बजेतिर दुर्घटना भएको हो ।
पश्चिमतर्फ आउँदै गरेको ग ६ प ५०२६ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको ना ५ ख २१८७ नम्बरको ट्याङ्करले ठक्कर दिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए ।
प्रहरीका अनुसार ट्याङ्करमा चिनी मिलबाट निस्किएको छुवा लोड गरिएको थियो । दुर्घटनामा परेर मोटरसाइकल चालक झापाको दमक नगरपालिका–९ का ३६ वर्षीय मनकुमार लिम्बूको मृत्यु भएको डीएसपी जोशीले जनाए । ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिएपछि गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रवार बिहानका राति १ः३५ बजेतिर झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा मृत्यु भएको हो ।
उर्लाबारीकै मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा सम्भव नभएपछि लिम्बूलाई थप उपचारका लागि बी एन्ड सी लगिएको थियो । ट्याङ्कर र चालक बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ का २९ वर्षीय अशोक थोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिसी क्यामेरा फुटेजमा मोटरसाइकल र ट्याङ्कर एक आपसमा ठोक्किएको देखिन्छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रन्जन बराल नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया