इटहरी : कोशी प्रदेश अन्तरगत सुनसरी जिल्लाको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा दोस्रो स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका सुनसरी जिल्ला सभापति समेत रहेका केदार भण्डारी नै मेयर पदमा निर्वाचित भएर तीन वर्ष बिताइसकेका छन् ।
पूर्वपश्चिम लोकमार्गको करिब ७ किलोमिटर लम्बाइका साथै भौगोलिक सिमाङ्कन अनुसार पूर्वमा गढी र पश्चिममा भोक्राहा नरसिंह गाउँपालिका, उत्तरमा इटहरी उपमहानगरपालिका र रामधुनी नगरपालिका तथा दक्षिणमा हरिनगर गाउँपालिकाले घेरिएको यस नगर सदरमुकाम भएर पनि सहरीकरणमा पछाडि रहेको नगरपालिका ग्रामीण र यहाँका नागरिक कृषि पेसा समेत अँगालेका छन् ।
निर्वाचित भएर आउँदै गर्दा घोषणापत्रअनुसारका काम कति पूरा भए साथै घोषणापत्रमा उल्लेख गरिएका कुराहरू कति सम्भव छन् भन्ने विषयमा केन्द्रित रहेर प्रदेश खबरले उनै इनरुवा नगरपालिका मेयर केदार भण्डारीसँग कुराकानी गरेको छ । भण्डारीसंगको कुराकानी र स्थानीयका अपेक्षा तथा चाहानाका सन्दर्भमा सम्पादन गरेर प्रस्तुत गरिएको सामाग्री यसप्रकार छ ।
इनरुवा नगरपालिकालाई १० वटा वडाहरूमा विभाजन गरिएको छ । नगरपालिकाको कुल क्षेत्रफल ७७.९२ वर्ग किलोमिटर रहेको छ । नगरपालिकाका मेयर भण्डारी भन्छन्, कृषिमा संलग्न रहेका नागरिकका त्यसै अनुसारको घोषणापत्र बनाएर निर्वाचन लडेको थिएँ । त्यसै अनुसार नै योजना बनाएर काम गरिरहेको छु ।’
भण्डारीले कतिपयले आफ्नो राजनीतिक दाइत्वमा रहेर विरोध गरिरहेको बताउँदै आफूले स्थानीयको असन्तुष्टिमै रहेर काम गरिरहेको बताए । जनताका धरै समस्याहरू भने जति बजेट नदिँदा सबै समस्याहरू पुरा गर्न समस्या भइरहेको उनको भनाई रहेको छ ।
के के गरे काम
🔷 शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा विशेष योगदान
– विपन्न वर्गमा कसैको मृत्यु भएमा मृतक परिवारलाई आर्थिक सहायता रु १०,०००० उपलब्ध गराउने।
–स्वास्थ्य बीमामा ८० प्रतिशत सम्मको अनुदान दिने २० प्रतिशत मात्र परिवारको तर्फबाट योगदान।
–असहाय बिरामीका लागि उपचारको व्यवस्था मिलाउने।
–आर्थिक अभावका कारण पढ्न नसक्ने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था।
🔷 आधारभूत पूर्वाधार विकास
–ज्येष्ठ नागरिकहरूको सुविधाका लागि भवनहरूको निर्माण।
–आवश्यकतानुसार बाटो, पुल निर्माण।
–जीर्ण स्वास्थ्य चौकीहरूको मर्मत तथा दुई वटा वडा कार्यालय भवन निर्माण।
🔷 समावेशी र लक्षित कार्यक्रमहरू
–अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सामग्री उपलब्ध गराउने।
–महिलाहरूलाई स्वरोजगारका लागि लुगा सिलाउने मेसिन वितरण र तालिम सञ्चालन।
🔷 कृषि र उद्यमशीलता प्रवद्र्धन
–किसानहरूलाई कृषि औजार र ट्र्याक्टर वितरण।
–स्वरोजगारका लागि महिला र कृषकहरूलाई तालिम प्रदान।
–कृषि व्यवसाय सुरु गर्न प्रारम्भिक पुँजीको व्यवस्था।
‘कृषि व्यवसाय गर्नेहरूका लागि पुँजीको सुरुवात गर्ने कार्य नगरपालिकाले गर्ने गरेको छ ।’ भण्डारी भन्छन्,‘त्यसलाई पुँजीको रुपमा विकास गर्दै लगेमा व्यवसाय विस्तार भएर समृद्धिको यात्रामा अगाडि बढ्न सकिन्छ ।’
नागरिकमा छैन विकासको अनुभूति, भण्डारी भन्छन्, ‘सुरु भएको छ’
जिल्लाको सदरमुकाम भएर पनि ओझेलमा जस्तै रहेको नगरपालिकामा विकासको अनुभूति हुन नसकिरहेको त्यहाँका कतिपय स्थानीयहरूको गुनासो रहेको छ ।
‘जनताले नजिकबाट भेट्ने सरकार भनेकै स्थानीय सरकार हो । त्यस कारण पनि धेरै आवश्यकताहरू हुने गर्दछन् । तर इनरुवा जस्तो अवस्थामा रहेको थियो धेरै परिवर्तनको सुरुवात भएको अवस्था चैँ रहेको छ ।’ उनले भने ।
भण्डारी कतिपयले नगरपालिकाले आर्थिक लाभ नदिएका कारणले समेत आलोचना गरिरहेको बताउँछन् । त्यस प्रकारको विरोधलाई व्यवसायीक विरोधका रूपमा लिएका भण्डारीले अन्य विरोधहरूलाई सुझावका रूपमा लिएर सीमितताका आधारमा काम गरेको उल्लेख गरेका छन् ।
प्रदेशबाट हुँदैन सोचेजस्तो सहयोग
भण्डारीले प्रदेशबाट सहयोग पाउनका लागि आफ्नो क्षेत्रमा नेताहरू नहुँदा आवश्यक सहयोग प्राप्त गर्न नसकिरहेको बताएका छन् । ‘आउनुपर्ने बजेटहरू त सिलिङका रूपमा आइरहेकै हुन्छ तर, जसरी प्रदेश तहका नेताहरूले प्राथमिकताका साथ सक्रियता नजनाउँदा अन्यका तुलनामा कम भइरहेको अवस्था पाएको छु ।’
जसले गर्दा जनताको इच्छा तथा आकाङ्क्षाअनुसार काम हुन भने नसकिरहेको उनको भनाई रहेको छ । संविधानले दिएको अधिकारको सवालमा पनि प्राप्त गर्न नसकिरहेको अवस्थामा नेताको पहुँचमा भए मात्रै बजेट दिने परम्पराको अन्त्य हुन आवश्यक रहेको उनले बताए ।
उनी थप्छन्,‘यो प्रकारको परिपार्टीले नागरिकका आकाङ्क्षामा समेत असर पर्ने देखिन्छ । अर्को शब्दमा भन्नुपर्दा इनरुवामा स्पेसल रूपमा प्रदेशले दिएको अवस्था छैन ।’ उनले कृषकहरूकै समस्यालाई प्रदेश तथा केन्द्रमा हारगुहार गर्दा समेत कुनै प्रगति नभइरहेको उल्लेख गरेका छन् ।
सुनसरीको दोस्रो नगर, मेयरको कृषिमा नजर
स्थानीय सरकार गठन भएपछि दोस्रो निर्वाचनमा समेत विजयी हासिल गरेको नेपाली कांगेसले यसअघिको कार्यकालमा कांग्रेसकै उम्मेदवार राजन मेहता मेयर भएका थिए । २०७९ सालको निर्वाचनमा नेपाली काँग्रेसका सुनसरी जिल्ला सभापति समेत रहेका भण्डारीले निर्वाचनमा पार्टीको विरासत जोगाउँदा कृषिको क्षेत्रमा काम गर्ने योजनाका साथ अगाडि आएको बताउँछन् ।
‘जनताका अगाडि ठुला सपना बाँडेको मैले थिइन्, यो नगरपालिका कृषि प्रदान नगरपालिका समेत भएकाले मैले कृषिको क्षेत्रमा काम गरिरहेको छु र मैले ५ वर्षका लागि घोषणापत्रमा उल्लेख गरेका र बाचा गरेका कुराहरूलाई पुरा हुने विश्वास लिएको छु । जसका आधारहरू पनि अहिले बनिरहेका छन् ।’ भण्डारी भन्छन् ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गत वर्ष सार्वजनिक गरेको नतिजामा सुनसरीभरिका १२ पालिकामध्ये इनरुवाले ६१.४ अङ्कसहित दोस्रो बनेको नगरपालिकामा कायम भएको बेरुजुलाई समेत क्रमशः घटाउँदै गएको भण्डारीले बताएका छन् । उनले आफूले नगरमा इमानदारीताका साथ काम गरेको बताउँदै क्रमिक रूपमा जनताका आकाङ्क्षाहरू पुरा हुँदै जाने समेत बताएका छन् ।
प्रतिक्रिया