काठमाडौँ : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि कतारसँग पुनः सक्रिय पहल गर्न आग्रह गरेकी छन्।
शुक्रबार सगरमाथा संवाद कार्यक्रममा सहभागी हुन काठमाडौँ आएका कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूत बदर उमर इस्माइल अल दफाससँग शिष्टाचार भेटका क्रममा डा. राणाले यो आग्रह गरेकी हुन्।
भेटमा डा. राणाले जोशीको अवस्था र स्वदेश फिर्ती सुनिश्चित गर्न कतारले हालसम्म देखाएको सक्रियताका लागि धन्यवाद दिँदै आगामी दिनमा थप ठोस पहल गर्न अनुरोध गरिन्।
यसअघि पनि डा. राणाले कतारका विदेशमन्त्री तथा इजरायलसँग हमासको वार्तामा संलग्न मध्यस्थकर्ताहरूसँग बारम्बार विपीनको रिहाइका लागि अनुरोध गर्दै आएकी छन्।
सन् २०२३ देखि हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग सहयोग माग्दै आएको छ।
डा.राणाले उक्त अवसरमा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न नेपाल र कतारबीच भविष्यमा हुने सहकार्यका सम्भावनाबारे पनि छलफल गरिन्।
प्रतिक्रिया