विराटनगर । मोरङमा भाडादरलाई लक्षित गरेर ट्राफिक प्रहरीले सवारीसाधनको अनुगमन गर्न थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सार्वजनिक सवारीसाधनले यात्रुसँग लिने भाडादरको अनुगमन गर्न थालेको हो ।
सवारीसाधनले अत्यधिक भाडा लिने गरेको जनगुनासो बढेसँगै इन्स्पेक्टर राजन लम्सालको नेतृत्वमा अनुगमन सुरु भएको छ । पहिलो चरणमा विराटनगरका विभिन्न स्थान र बुढीगंगामा अनुगमन गरिएको लम्सालले बताए । उनका अनुसार बस, विंगर, माइक्रो, म्याजिक, ई–रिक्सा, अटो टेम्पोलगायतका यातायातका साधनको भाडादरको अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा कतिपय सवारीसाधनले तोकिएको भन्दा बढी भाडा लिने गरेको पाइएको छ । ‘२० रूपैयाँ लिनुपर्ने ठाउँमा ३० देखि ४० रूपैयाँसम्म लिने गरेको पाइयो । यात्रुसँग लिइएको बढी भाडा तत्काल फिर्ता गर्न लगाइएको छ,’ इन्स्पेक्टर लम्सालले भने । उनले आगामी दिनमा बढी भाडा नलिन र यात्रुमैत्री व्यवहार गर्न सार्वजनिक सवारीका चालकलाई सचेत गराइएको छ ।
अबदेखि बढी भाडा लिने सवारीसाधनलाई कारबाही गरिने लम्साल बताउँछन् । ‘पहिलो चरणमा अनुगमन गरेर सचेत गराइएको छ । आगामी दिन पनि बढी भाडा लिएको पाइयो भने तत्काल कारबाहीको दायरामा ल्याइने छ,’ उनले भने ।
कुनै सवारीसाधनले बढी भाडा लिएमा तत्काल टोली फ्री नम्बर १०३ मा जानकारी गराउन ट्राफिक प्रहरीले सबैमा आह्वान गरेको छ । भाडा तिर्ने बेला ठगीमा नपर्न र ठगिएको शंका लागेमा तत्काल खबर गर्न ट्राफिक प्रहरीले आग्रह गरेको हो ।
प्रतिक्रिया