इलाम : महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं वार्षिक लेखापरीक्षण प्रतिवेदनले इलाम जिल्लाका स्थानीय तहहरूको वित्तीय अनुशासनमा उल्लेखनीय सुधार देखिएको संकेत दिएको छ। प्रतिवेदनअनुसार इलामका ६ स्थानीय तहले गत वर्षको तुलनामा आफ्नो बेरुजु रकम उल्लेख्यरूपमा घटाएका छन्।
सन्दकपुर, रोङ, फाकफोकथुम, माइजोगमाई गाउँपालिका तथा इलाम र देउमाई नगरपालिकाले बेरुजु घटाउनेतर्फ सकारात्मक उपलब्धि हासिल गरेका छन्। सन्दकपुर गाउँपालिकाको बेरुजु गत वर्षको ५ करोड ७२ लाखबाट घटेर यस वर्ष ४२ लाखमा झरेको छ, जुन ९२.५% कमी हो।
सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव राउतका अनुसार हाल देखिएको बेरुजु विधिसम्मत निर्णयबाट सहजै समाधान गर्न मिल्ने प्रकारको हो। उनले कानुन, निर्देशिका र प्रक्रिया पालन गरेर काम गर्दा बेरुजु नियन्त्रण सम्भव हुने स्पष्ट पारे।
राउतका अनुसार २०७४ सालदेखिका करीब १६ करोड रुपैयाँ बराबरको बेरुजुमध्ये आधाभन्दा बढी घटाइएको छ।
उनले भने,
कर्मचारी र जनप्रतिनिधिको सकारात्मक प्रयास भयो भने बेरुजु शून्यमा झार्न सकिन्छ ।
माइजोगमाई गाउँपालिकाले ९२.२९% बेरुजु घटाएर १० करोड ७८ लाखबाट ८३ लाखमा ल्याएको छ।
इलाम नगरपालिकाले ५१.४४% घटाउँदै बेरुजु ६ करोड ९६ हजारबाट २ करोड ९१ लाखमा सीमित राखेको छ।
रोङ गाउँपालिकाले ५०% कमी गर्दै ५ करोड ४० लाखको बेरुजु घटाएर २ करोड ७२ लाखमा ल्याएको छ।
देउमाई नगरपालिकाले ३२.३६% घटाएर १ करोड ७१ लाखको बेरुजु कायम गरेको छ।
फाकफोकथुम गाउँपालिकाले २७.६८% बेरुजु घटाएको छ।
यसबीच माङसेबुङ गाउँपालिकाको बेरुजु ५२५% वृद्धि भएर ४० लाखबाट २ करोड ५४ लाख पुगेको छ। माई नगरपालिका जिल्लामै सबैभन्दा बढी बेरुजु देखिएको पालिका बनेको छ, जसको बेरुजु १७७% बढेर ६ करोड ४९ लाख पुगेको छ। सूर्योदय नगरपालिकाको बेरुजु १७ लाखबाट बढेर ६१ लाख पुगेको छ।
इलामका सबै स्थानीय तहहरूलाई समेट्दा कुल बेरुजु गत वर्षको ३७ करोड २९ लाखबाट घटेर २२ करोड ४९ लाखमा झरेको छ, जुन ३९.६७% को सुधार हो। यो परिवर्तन स्थानीय तहमा आर्थिक अनुशासन, पारदर्शिता र प्रशासनिक जवाफदेहितातर्फ स्थानीय सरकारहरू अघि बढिरहेको संकेत मानिएको छ।
प्रतिक्रिया